
काठमाडौं– सिन्धुलीस्थित नेपाल एसबीआई बैंक लुट्न संलग्न रहेका ७ जना रकमसहित प्रहरीले पक्राउ गरेको छ। यो लुटपाट बैंकको कार्यालय राखिएको घरका मालिकको योजनामा बनेको पनि अनुसन्धानले खुलायो।
सिन्धुलीको घ्याङलेख गाउँपालिका २ हायुटारस्थित एसबीआई बैंकको शाखा कार्यालय लुटपाटपछि फरार रहेका बैंक रहेको घरका धनी छविलाल स्याङ्तानलाई नजिकैको जंगलबाट प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ।
स्याङ्तानसहित काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १० का ४९ वर्षीय भागवत सिंह, सिन्धुलीको घ्याङलेख गाउँपालिका २ का ४७ वर्षीय चतुरमान बज्यु, भरतपुर महानगरपालिका २ बस्ने २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोटको पञ्चकन्या गाउँपालिका ५ का २३ वर्षीय मिलन गिरी, १९ वर्षका विवेक मगर र १६ वर्षका किशोर पनि पक्राउ गरिएका छन्।
यो बैंक लुट्ने योजना असोज महिनामा नै बनेको पनि अनुसन्धानका क्रममा खुलेको छ।
बैंकबाट लुटपाट गरेको मध्ये २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ प्रहरीले बरामद गरेको छ। यस्तै लुटपाटमा प्रयोग भएका २ थान खुकुरी, प्लास्टिकको पेस्तोल, टेप, नकाब ४ थान, पन्जा एक थान प्रहरीले बरामद गरेको छ।
स्याङ्तान र चतुरमान बज्युले गत असोजमै बैंक लुट्ने योजना बनाए। पुस २९ गते राति साढे ७ बजेको समयमा बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्की र बैंकमा रहेका कर्मचारीलाई नियन्त्रणमा लिएको र खुकुरी समेत प्रहार गरेर घाइते बनाएको भन्दै प्रहरीलाई सूचना आएको थियो।
घटना अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक (एसपी)को कमान्डमा ५० जना प्रहरी परिचालन गरिएको थियो।
प्रहरीले स्थानीयको समेत सहयोगमा शंकास्पद स्थानमा व्यापक खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब २ किलोमिटर पूर्व लिपिखोलामा बीएडी ०३९८ टाटा सुमो र चालक भागवत सिंह थापालाई फेला पारेको थियो।
अनुसन्धान तथा खोजतलास गर्ने क्रममा पुस २९ गते राति जंगलको विभिन्न स्थानमा बोरामा लुकाई राखेको र छरपस्ट अवस्थामा १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद भएको थियो।
पुस ३० गते बिहान सिन्धुली घ्याङलेख गाउँपालिका १ सुकाचुरीबाट ४ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरी खानतलासी गरेको थियो।
उनीहरूको साथबाट प्रहरीले ५ लाख ९ हजार ६७५ रुपैयाँ फेला पारेको थियो। उनीहरूले बैंक लुटपाटमा संलग्न भएको स्वीकार गरेका थिए।
घटनामा प्रयोग भएको नकाब, पञ्जा, नक्कली प्लास्टिकको पेस्तोललगायत घटना हुँदा उनीहरूले प्रयोग गरेका कपडासमेत बरामद भएको थियो।