कास्की–२ बाट युवा नेता मिलन जंग कुवर सिफारिस

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कास्की–२ बाट युवा नेता मिलन जंग कुवर सिफारिस कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट युवा उम्मेदवार मिलन जंग कुँवर प्रतिनिधि सभाका लागि सिफारिस भएका छन्। युवामाझ लोकप्रिय र जनसेवामा सक्रिय कुँवरले यसअघि युवा संघ नेपाल, कास्कीको अध्यक्ष भएर संगठन निर्माण र युवालाई एकताबद्ध गर्ने भूमिकामा उल्लेखनीय काम गरेका छन्। सानै उमेरदेखि व्यवसाय क्षेत्रमा सक्रिय रहेका कुँवर सफल युवा व्यवसायी पनि हुन्। व्यवसायबाट प्राप्त अनुभव, अनुशासन र परिणाममुखी सोचलाई अब सामाजिक तथा राष्ट्रिय राजनीतिमा प्रयोग गर्ने उद्देश्यसहित उनी उम्मेदवारी प्रक्रियामा अघि बढेका छन्। “अब व्यवसायबाट मात्रै होइन, नीति निर्माण र राज्य सञ्चालनमार्फत समाजमा योगदान दिने समय आएको छ,” कुँवरले बताएका छन्। कास्की–२ मा गत प्रतिनिधि सभा निर्वाचनमा एमाले नेतृ विद्या भट्टराई विजयी भएकी थिइन्। तर यसपटक एमाले–कांग्रेस गठबन्धनले जनभावना नबुझी गम्भीर राजनीतिक गल्ती गरेको भन्दै स्थानीय स्तरमै असन्तोष देखिएको छ। यस्तो परिस्थितिमा संगठन, नीति र जिम्मेवारीका हिसाबले बलियो राजनीतिक शक्ति नेपाली कम्युनिस्ट पार्टी नै विजयी हुनेमा स्थानीय नेता तथा कार्यकर्ताहरू विश्वस्त देखिन्छन्। कुँवर आफूलाई स्वतन्त्र सोच भएका, जनताको विश्वास प्राप्त युवा उम्मेदवार का रूपमा प्रस्तुत गर्दै आएका छन्। संसदमा पुगेपछि सुशासन, पारदर्शिता र जवाफदेहिता नै आफ्नो मुख्य एजेन्डा हुने उनको भनाइ छ। साथै कास्की क्षेत्रको पर्यटन विकास, युवाका लागि रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन, र बिग्रँदो राजनीतिलाई सही ट्र्याकमा ल्याउने काम आफ्नो प्रमुख दायित्व हुने उनले स्पष्ट पारेका छन्। उनले शिक्षा र स्वास्थ्य सेवामा गुणस्तरीय पहुँच, भ्रष्टाचारविरुद्ध कडा नीति, स्थानीय उत्पादन र कृषिमा आधारित अर्थतन्त्रको प्रवर्द्धन, तथा प्रविधिमैत्री शासन प्रणाली विकासलाई पनि प्राथमिक एजेन्डाका रूपमा अघि सारेका छन्। पार्टी नेतृत्वले पनि युवालाई अवसर दिने, नयाँ पुस्ताका मुद्दाहरू संसदमा प्रभावकारी रूपमा उठाउने स्पष्ट योजना बनाइसकेको जनाएको छ। लामो समयको प्रतीक्षा र धैर्यपछि अब देशलाई नयाँ पुस्ताले जिम्मा लिएर विकासको बाटोमा लैजानुपर्ने साझा निष्कर्षमा पार्टी र युवा नेतृत्व पुगेको देखिन्छ। “हामीसँग अब धेरै वर्ष कुर्ने समय छैन। अब निर्णय गर्ने, नेतृत्व गर्ने र परिणाम देखाउने बेला हो,” कुँवरको भनाइ छ। यही आत्मविश्वास, स्पष्ट एजेन्डा र युवामैत्री दृष्टिकोणका कारण कास्की–२ मा यसपटक परिवर्तनको मतादेश आउने विश्वास स्थानीयवासीमा बढ्दै गएको छ।