इरानसँग अमेरिकी तनाव कम हुने सङ्केतबिच घट्यो तेलको मूल्य

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ

इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीबारे बजारमा छाएको त्रास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मत्थर गरेपछि नोभेम्बरयताकै उच्च स्तरबाट बिहीबार तेलको मूल्य घटेकाे हो ।

हालैका दिनमा भएको वृद्धिबाट नाफा कमाउन व्यापारीहरूले आफूसँग भएको सुन बेच्न थालेपछि सुन बजार पनि दबाबमा आएको छ । प्राविधिक क्षेत्रको शेयरमा सेल–अफ जारी रहँदा बिहीबार एसिया क्षेत्रका सेयर बजार मिश्रित देखिएका थिए ।

बिहीबार लन्डनस्थित आईसीईको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ ३ दशमलव ४ प्रतिशतले घटे प्रतिब्यारेल ६४ डलर २५ सेन्टमा आयो ।

न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि ३ दशमलव ४ प्रतिशतले घटेर प्रतिब्यारेल ५९ डलर ८९ सेन्टमा आएको छ । अघिल्लो दिनको कारोबारमा ब्रेन्ट क्रुड र डब्ल्यूटीआई क्रमशः ६६ डलर ८२ सेन्ट र ६२ डलर ३६ सेन्टसम्म उक्लिएका थिए ।

इरानमा देशव्यापी प्रदर्शनमा प्रर्दशनकारीमाथि दमन कम गएको र हत्या पनि घटेको बुधबार मध्याह्न ट्रम्पले भनेका थिए । एक प्रदर्शनकारीलाई तत्कालै फाँसी दिने योजना इरानको नभएको आफूले विश्वस्त स्रोतले भनेको समेत उनले बताएका थिए ।

बिहीबार विश्व बजारमा बहुमूल्य धातु सुनको भाउ पनि घटेको छ । न्यूयोर्कको कोमेक्स डिभिजनमा बिहीबार यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार दिउँसो ३ बजे स्पट गोल्डको भाउ प्रतिऔंस ४ हजार ६ सय ३ डलर ९९ सेन्टमा किनबेच भइरहेको थियो । उक्त दिन स्पट गोल्ड न्यूनतम ४ हजार ५८२ डलर ७१ सेन्टसम्म आएको थियो । बुधबार सुनको भाउले ४ हजार ६४२ डलर ७२ सेन्टको उच्च बिन्दु छोएको थियो ।

बिहीबार एसिया क्षेत्रमा सेयर बजार मिश्रित छन् । जापानमा निक्केई २२५ परिसूचक शून्य दशमलव ९ प्रतिशतले घटेको छ ।

अघिल्लो दिनको कारोबारमा निक्केई कीर्तिमानी उच्च बिन्दुमा उक्लिएको थियो । ताइवान, हङकङमा र चीनमा सेयर बजार रातोमा आएका थिए । चीनमा साङ्हाई भारत, सिंगापुर, दक्षिण कोरिया, इन्डोनेशिया र थाइल्यान्डमा भने बजार हरियोमै बन्द भएका थिए ।