निर्वाचन प्रहरीमा आज दरखास्त दिने अन्तिम दिन, कतिले दिए आवेदन ?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ- आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिने निर्वाचन प्रहरीमा ६ दिनमा १ लाख ६० हजार बढीले दरखास्त दिएका छन् ।

२५ पुसबाट निर्वाचन प्रहरी भर्नाको आवेदन खुलाइएकामा बुधबारसम्म १ लाख ६० हजार २ सय ३९ जनाको आवेदन परेको हो । आवेदन दिने म्याद बिहीबार (आज अन्तिम हो ।

२१ फागुनका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ नेपाल प्रहरी मातहत खटिने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत परिचालन हुने गरी १५ हजार १ सय १० जनाका लागि आवेदन खुलाइएको थियो । नेपाल प्रहरीले आफ्ना जिल्लास्थित प्रहरी कार्यालय र सशस्त्रले जिल्लाकै गणरगुल्मबाट भर्ना खुलाएका थियो ।

जसमा नेपाल प्रहरीमार्फत एक लाख ४७ हजार ९ सय ८८ र सशस्त्र प्रहरीमार्फत १२ हजार २ सय ५१ जना छन् । प्रहरीमार्फत आवेदन दिनेमध्ये विगतका निर्वाचनमा म्यादी प्रहरी भएर खटिने २१ हजार ७ सय ३६ र सशस्त्र मार्फत आवेदन दिनेमा ९ सय ३७ म्यादी प्रहरी छन् । ३९ हजार ९ सय १ महिलाको आवेदन परेको छ ।

बाँकी पुरुष आवेदक छन् । बिहीबार रातीसम्म आवेदन दिने कूल संख्या तय हुने र त्यसपछि छनोट प्रक्रिया अघि बढाइने दुबै प्रहरी प्रधान कार्यालयले जनाएका छन् । प्रहरीका अनुसार विगतका निर्वाचनको तुलनामा यसपटक म्यादीमा तुलनात्मक कम आवेदन परेको छ । २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न आवेदन खुलाइएकामा दोब्बर अर्थात् २ लाख ३२ हजार ८८ जनाको दरखास्त परेको थियो ।

त्यसअघि २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन सुरक्षामा पनि करिब १ लाख म्यादी प्रहरी भर्नाको आवेदन खुलाइएकामा माग भन्दा तेब्बर बढी अर्थात् करिब ३ लाखको दरखास्त परेको थियो । तर, यो पटकको निर्वाचनमा भने माग भन्दा केही बढीको मात्रै आवेदन परेको छ । आवेदनको अनुपात हेर्दा यो पटक करिब २ लाख हाराहारीमा आवेदन पर्न सक्ने विश्लेषण सुरक्षा अधिकारीहरूको छ । यो अनुसार दरखास्त परेमा तोकिएका मापदण्डअनुसार छनोट गरिने छ ।