उज्यालो नेपाल पार्टी (उनेपा) आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ ।
प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेहरूका लागि अनलाइनमार्फत आवेदन खुला गरिसकेको छ । तर आवेदन खुला गरे पनि केही महत्त्वपूर्ण क्षेत्रहरूमा अझै योग्य उम्मेदवारको खोजी गरिरहेको उज्यालो पार्टीले जनाएको छ ।
पार्टीले सबै क्षेत्रमा सङ्गठन विस्तार गरिरहेको भए पनि केही जिल्लामा अझै पनि सक्षम र प्रभावशाली उम्मेदवारको खोजी गरिरहेको हो । यतिबेला पार्टीले अध्यक्ष कुलमान घिसिङको गृह जिल्ला रामेछापसहित २४ निर्वाचन क्षेत्रको लागि योग्य उम्मेदवार खोजी गरिरहेको छ ।
अध्यक्ष घिसिङले अन्य पार्टीसँग एकीकरण नगरी अगाडि बढ्ने बताइसकेका छन् । उनले भनेका छन्, ‘उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि त्यसैगरी अघि बढ्ने स्पष्ट जानकारी गराउन चाहन्छु ।’
पार्टीका केन्द्रीय सदस्य जीतराम लामाका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार बन्नका लागि देशभरबाट उल्लेख्य सङ्ख्यामा आवेदनहरू प्राप्त भइरहेका छन् । ‘हामीले १६५ वटै क्षेत्रमा उम्मेदवारी दिने तयारीका साथ आवेदन माग गरेका थियौँ, धेरै ठाउँमा आवेदन परेका पनि छन्,’ लामाले भने, ‘तर कतिपय जिल्लामा पार्टीको मापदण्ड अनुसारका सक्षम र योग्य उम्मेदवारको अझै खोजी भइरहेको छ । हामी उम्मेदवार छनोट प्रक्रियालाई निरन्तरता दिइरहेका छौँ ।’
पार्टीले कोशी प्रदेशका ३ निर्वाचन क्षेत्रमा उपयुक्त उम्मेदवार खोज्दै छ । जसमा धनकुटा–१, मोरङ–२ र उदयपुर–२ रहेका छन् । मधेस प्रदेशको महोत्तरी–१ मा पार्टीले योग्य उम्मेदवारको खोजी गरिरहेको छ । बागमती प्रदेशका २ क्षेत्रमा अझै उम्मेदवार खोजी जारी रहेको छ । जसमा कुलमान घिसिङको गृह जिल्ला रामेछाप–१ र रसुवा–१ रहेका छन् ।
यता, गण्डकी प्रदेशका ५ क्षेत्रमा उम्मेदवारको खोजी भइरहेको छ । जसमा गोर्खा–२, मनाङ–१, मुस्ताङ–१, म्याग्दी–१ र बागलुङ–१ रहेका छन् ।
सबैभन्दा धेरै लुम्बिनी प्रदेशका ८ क्षेत्रमा उम्मेदवारको रिक्तता देखिएको छ । पाल्पाका क्षेत्र १ र २, गुल्मीका क्षेत्र १ र २, प्युठान–१, रोल्पा–१ तथा दाङका क्षेत्र १ र २ मा पार्टीले उम्मेदवार खोजी गरिरहेको छ । कर्णाली प्रदेशको दैलेख–२ मा अझै उम्मेदवार तय हुन बाँकी छ ।
सुदूरपश्चिमका ५ क्षेत्रहरूमा दार्चुला–१, बझाङ– १, बैतडी–१, डडेलधुरा–१ र अछाम–१ मा पार्टीले योग्य उम्मेदवारको खोजी जारी छ ।
पार्टीले देशलाई नयाँ दिशा दिन सक्ने, निष्कलङ्क र विकासप्रेमी छवि भएका व्यक्तिहरूलाई उम्मेदवारीका लागि आह्वान गरेको छ । सङ्गठन विस्तार भएका क्षेत्रमा उम्मेदवार छनोट सहज भए पनि केही दुर्गम र रणनीतिक क्षेत्रमा भने पार्टीले विशेष मिहिनेत गरिरहेको केन्द्रीय सदस्य लामाले जानकारी दिए ।