थाइल्यान्डमा फेरि अर्को क्रेन दुर्घटना, २ जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गुडिरहेको रेलमाथि क्रेन खसेर ३२ जनाको ज्यान गएको भोलिपल्ट थाइल्यान्डमा फेरि अर्को क्रेन दुर्घटनामा परेको छ । थाइल्यान्डको राजधानी बैंकक नजिकै रहेको सामुत साखोन क्षेत्रमा निर्माणाधीन एक्सप्रेस वे मा प्रयोग गरिएको क्रेन राजमार्गमा खस्दा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा केही सवारी साधन च्यापिएर क्षतिग्रस्त भएका छन् । घटनास्थल धुलो र भग्नावशेषले ढाकिएको भिडियो फुटेज सार्वजनिक भएको छ । बुधबार देशको उत्तरपूर्वी नाखोन रात्चासिमा प्रान्तमा गुडिरहेको रेलमाथि नजिकै निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्ला कम्तीमा ३२ जनाको मृत्यु भएको थियो भने ६० भन्दा बढी यात्रु घाइते भएका थिए ।

दुवै घटनामा संलग्न क्रेन निर्माणमा प्रयोग भइरहेका थिए । दुवै ठाउँमा थाइल्यान्डको ठुला निर्माण कम्पनीमध्ये एक इटालियन–थाइ डेभलपमेन्टले निर्माणको काम गरिरहेको पुष्टि भएको छ ।

कमजोर सुरक्षा मापदण्ड र नियमको कमजोर कार्यान्वयनका कारण थाइल्यान्डमा बारम्बार यस्ता दुर्घटना हुने गरेको विज्ञहरू भन्छन् । पछिल्लो सात वर्षमा मात्र बैंककदेखि देशको दक्षिणी भागसम्मको सडक सुधार परियोजनामा भएका दुघर्टनाहरूमा करिब १५० जनाको ज्यान गएको बताइएको छ ।

बिहीबार क्रेन खसेको एक्सप्रेस वेमा विगतमा समेत कयौँ दुर्घटना भएका छन् । यसका कारण यो सडकलाई ‘डेथ रोड’ (मृत्यु सडक) भन्न थालिएको छ ।

बुधबारको दुर्घटनापछि निर्माण कार्यमा भएको लापरबाहीमाथि कडा कदम चाल्ने थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलले बताएका छन् । यसैबिच, स्टेट रेल्वे अफ थाइल्यान्डले पनि इटालियन–थाइ डेभलपमेन्ट कम्पनीविरुद्ध मुद्दा दायर गर्ने घोषणा गरेको छ ।