नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक कलह, पार्टी विभाजनको सङ्घार र दुई समूहबीच सुरु भएको आधिकारिकता विवादप्रति पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। देशको सबैभन्दा पुरानो र लोकतान्त्रिक दलभित्रको यो किचलोले मुलुकको राजनीतिक स्थिरतामै गम्भीर धक्का पुग्ने उहाँको ठहर छ।
मेयर आचार्यले वर्तमान राजनीतिक अवस्थालाई ‘अत्यन्तै दुःखद र चिन्ताजनक’ भनी टिप्पणी गर्नुभएको छ। विशेषगरी कांग्रेसका दुई पक्षबीच पार्टीको नाम, झण्डा र आधिकारिकताका लागि निर्वाचन आयोगसम्म पुग्ने परिस्थिति सिर्जना हुनु लोकतन्त्रका लागि सुखद नरहेको उहाँले बताउनुभएको छ।
पार्टी फुटाउने र आधिकारिकता दाबी गर्ने प्रवृत्तिले कसैको हित नगर्ने स्पष्ट पार्दै उहाँले भन्नुभएको छ, “इतिहास साक्षी छ—जुनसुकै राजनीतिक दल भए पनि विभाजनले कहिल्यै सकारात्मक परिणाम दिएको छैन।” उहाँले विभाजनले पार्टीलाई बलियो बनाउनुको सट्टा झन् कमजोर र दिशाहीन बनाउने उल्लेख गर्नुभएको छ।
दुई समूहबीचको बढ्दो दूरीले आम कार्यकर्तामा निराशा छाएको भन्दै मेयर आचार्यले नेतृत्वलाई समूहगत स्वार्थ र आधिकारिकताको विवादभन्दा माथि उठ्न आग्रह गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “अझै पनि समय सकिएको छैन, यदि थोरै भए पनि सम्भावना बाँकी छ भने संयम, समझदारी र जिम्मेवारीका साथ अघि बढौँ।”