
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन सम्पन्न भएपछि पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्ने बताएका छन् ।
बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन स्थलबाट सम्बोधन गर्दै उनले पार्टी एकताको सन्देश दिँदै कार्यकर्तालाई कसैलाई पनि गालीगलौज नगर्न आग्रह गरेका छन् ।
‘तपाईंहरू गाउँठाउँमा जाँदा, सामाजिक सञ्जालमा लेख्दा, कृपया कसैको बारेमा पनि गालीगलौज नगरिदिनुहोला । कसैको बारेमा टिप्पणी नगरिदिनुहोला,’ थापाले भने, ‘ती साथीभाइलाई पनि सँगै लिएर जानुपर्नेछ । केही दिनपछि जब कांग्रेसको महाधिवेशन सकिन्छ । नयाँ निर्णय सुनाउँछौं । दुई दिन पछाडि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको आशीर्वाद लिन त जानु छदैछ नि ।’
यसअघि संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्ला मन्सुरलाई ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको छ ।