बस्तर क्षेत्रका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीका अनुसार सशस्त्र माओवादीहरूको उपस्थितिको ठोस सूचनाका आधारमा सुरक्षा बलले सर्च अपरेशन सुरु गरेको थियो। मुठभेड स्थलबाट हालसम्म १४ वटा शव बरामद भइसकेको र यो सङ्ख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।
सुकमा जिल्लाबाट १२ र बीजापुरबाट दुई जना माओवादीको शव फेला परेको छ। मुठभेड स्थलबाट सुरक्षा बलले एके–४७, इन्सास राइफल र एसएलआर जस्ता ठूलो परिमाणका हतियारहरू समेत बरामद गरेको छ। बीजापुरमा बिहान पाँच बजेदेखि र सुकमामा बिहान आठ बजेदेखि सुरक्षाकर्मी र माओवादीबिच पटक–पटक गोली हानाहान भएको थियो। सो क्षेत्रमा अहिले पनि सुरक्षा बलको सर्च अपरेशन जारी छ।
यसैबिच, छत्तीसगढका चर्चित माओवादी नेता देवा बारसेले २० जना अन्य माओवादीसहित हैदराबादमा आत्मसमर्पण गरेका छन्। तेलङ्गाना प्रहरीले बारसेको आत्मसमर्पणको पुष्टि गरेको छ।
भारतीय गृहमन्त्री अमित शाहले सन् २०२६ मार्च ३१ सम्ममा देशबाट माओवादी आन्दोलन समाप्त गर्ने समयसीमा तोकेपछि पछिल्लो समय सुरक्षा कारबाही निकै तीव्र पारिएको छ। गत एक वर्षमा मात्रै बस्तर क्षेत्रमा भएका ९९ वटा मुठभेडमा २५६ जना माओवादी मारिएको सुरक्षा निकायको दाबी छ।