‘पहिला सरकार भेट्न सिंहदरबार जानुपर्थ्यो, अहिले सरकार नै पार्टी कार्यालयमा आयो’: रास्वपा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक दलको कार्यालयमा पुगेर छलफल गर्दै सरकारले सकारात्मक सन्देश दिएको बताएकाे छ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता मनिष झाले यस्तो बताउनुभएको हो। उहाँले विगतमा सरकार खोज्दै सिंहदरबार जानुपर्ने अवस्थाको अन्त्य गर्दै अहिले सरकार नै राजनीतिक दलको कार्यालयमा पुग्नु सकारात्मक रहेको बताउनुभयो। उहाँले यसले राजनीति र निर्वाचनका लागि वातावरण बनाउने बताउनुभएकाे छ। उहाँले निर्वाचनको लागि माहोल बनाउने तयारी गरेकोमा सरकारको प्रशंसा गर्नुभयो।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन बाहेक अर्को विकल्प नदेखेको बताउनुभयो । उहाँले रास्वपाले एकमत भएर निर्वाचनमा जाने बताएको जानकारी दिनुभएकाे छ। सरकारले पनि निर्वाचनको तयारीका लागि आवश्यक काम गरिरहेको जानकारी गराउँदै आगामी फागुन २१ गतेको निर्वाचन नै अन्तरिम सरकारको अर्जुनदृष्टि रहेको बताउनुभयो। सरकारको तयारी भन्दा अघि नै रास्वपा निर्वाचनमा होमिएको आभाष भएको उहाँले जिकिर गर्नुभएकाे छ।

मन्त्री सिन्हाले निर्वाचन नहुने हो की भन्ने शंका नगर्न पनि आग्रह गर्नुभयो। इतिहासमै सरकार राजनीतिक दलको कार्यालयमा गएको रेकर्ड नरहेको उहाँकाे भनाइ छ।