विदेशमा बस्नेले नकरात्मकता मात्रै फैलाउने काम गरेकाे अध्यक्ष ढकालकाे आराेप

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धेरै सम्भावनाहरु भएपनि विदेश बस्नेहरुले नकरात्मकता मात्रै फैलाउने काम गरेको आरोप लगाउनुभएको छ।

काठमाडाैंमा बुधबार आयाेजिक एक कार्यक्रममा बाेल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेपालमा लगानीको ठूलो सम्भावना रहेको भएता पनि नेपालमा अब केही सम्भावना छैन भन्ने गलत भाष्य खडा गर्न खोजिएको बताउनुभयो । नेपाल बाहिर बस्नेहरुले सामाजिक सञ्जालमा नकरात्मक भावना फैलाएको उहाँको भनाइ छ। उहाँले नकरात्मकतलाई चिर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले आन्तरिक पूँजी परिचालन गरेर नेपालमा धेरै परियोजनाहरु सञ्चालन गर्न सकिने बताउनुभएकाे छ।

महासंघले आन्तरिक पूँजी परिचालन गर्नकै लागि १० अर्ब रुपैयाँ बराबरको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेडको स्थापना गरेको पनि उहाँले जानकारी दिनुभयो । कम्पनीले ईनोभेट तथा नयाँ स्टार्टअपहरुमा लगानी गर्ने उहाँकाे भनाइ छ। अध्यक्ष ढकालले महिलाको सहभागिता बढाउन कानून र नीतिगत सुधार गरेको पनि बताउनुभयो ।

एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहल अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा बुधबार उच्चस्तरीय नीतिगत संवाद आयोजना गरिएको हो । कार्यक्रममा पर्यटन क्षेत्रमा समावेशी आर्थिक वृद्धि र महिला उद्यमशीलता प्रवद्र्धनका उपायहरूमाथि छलफल गरिएको छ।

साेही कार्यक्रममा होमस्टे, आवास सेवा, हस्तकला, खाद्य सेवा तथा समुदायमा आधारित पर्यटनजस्ता सुक्ष्म, साना तथा मझौला उद्यममार्फत महिलाहरूको उल्लेखनीय योगदान रहेको विषयमा छलफल भएको थियो ।