स्थानीय तहले ‘अनरसिप’ लिनेगरी विकासको साझेदारी गर्न सकिन्छ : मुख्यमन्त्री बानियाँ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश र स्थानीय तहबिचको सम्बन्धलाई ‘आर्थिक र विकासको साझेदार’ का रूपमा अघि बढाउनुपर्ने बताएका छन् । उनले सङ्घीयता कार्यान्वयनमा प्रदेश र स्थानीय तहले प्रशासनिक क्षेत्रमा मात्र नभई आर्थिक तथा विकासका काममा सहकार्यको नयाँ नीति अवलम्बन गर्नुपर्ने बताए ।

थाहा नगरपालिकाको चित्लाङमा आयोजित चित्लाङ हिल स्टेसन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले प्रदेशले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत बजेट बेहोर्ने गरी विकासका ठुला आयोजनामा साझेदारी गर्न सकिने बताए ।  विगतमा प्रदेश सरकारले बनाएका कतिपय संरचनाहरू व्यवस्थापनको अभावमा बेवारिसे बनेको र ती संरचनाहरू स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

‘स्थानीय तहले योजनाको अपनत्व लिउन् भन्ने प्रदेशको चाहना हो । तपाईँहरुले ३ करोडको हिम्मत गर्नुभयो भने प्रदेश सरकार ७ करोड थपेर १० करोडको आयोजना सम्पन्न गर्न तयार छ । यसले स्रोतको सही सदुपयोग र विकासमा तीव्रता दिनेछ’ उनले भने– ‘प्रदेशले विकास र संरचना बनाएर मात्र हुँदैन । त्यसलाई जोगाउने र चलाउने काम स्थानीयले लिनुपर्छ । थाहा नगरमा बनेको यो संरचना अब नगरपालिकाको सम्पत्ति हो । यसको सफल सञ्चालनले नै सङ्घीयतालाई बलियो बनाउँछ ।’

विकासलाई दलीय स्वार्थभन्दा माथि राख्नुपर्ने मुख्यमन्त्री बानियाँको भनाइ छ । विकासमा एकताको नयाँ भाष्य निर्माण गर्नुपर्नेमा उनले जोड दिए । मकवानपुरको (दामन, पालुङ, चित्लाङ) लाई पर्यटनको हब बनाउन प्रदेश सरकारले विशेष लगानी गर्ने उनले प्रतिबद्धता समेत उनले व्यक्त गरे । काठमाडौँ–चन्द्रागिरि–थाहा नगरको कनेक्टिभिटीले सो क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने उनको भनाइ छ ।सडक र बिजुलीमा कांग्रेस वा एमालेको लेबल हुँदैन । निर्वाचनमा एजेन्डा फरक हुन सक्छन् । तर विकासको धारामा सबैले एउटै पानी खाने हो । त्यसैले विकासमा विग्रह होइन । सहकार्य गरौँ’ उनले भने ।