शहीद परिवारका सदस्यहरुले शहीद परिवारप्रति बेवास्ता गरेको आरोप लगाउँदै आन्दोलन गर्ने घोषणा गरेका छन् ।
मधेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आइरहेकोमा यस वर्ष कुनै तयारी नगरिएको र मधेशमा रहेका शहीद परिवारलाई दिइँदै आएको राहत प्याकेज समेत अड्काएर राखेको उनीहरुको आरोप लगाएका हुन् । उनीहरुले शहीद परिवारको अपमान गर्न खोजिएको भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।
मधेशी शहीद प्रतिष्ठानका सदस्यहरुले पत्रकार सम्मेलनको आयोजना गरी आगामी शनिबारसम्म आफूहरुको माग सम्बोधनमा सरकारले गम्भिरता नदेखाए आन्दोलन गर्ने बताएका हुन् । सरकारले शहीद परिवारलाई अपमान गर्नुका साथै मधेसी शहीद प्रतिष्ठान नै बन्द गर्ने योजना बनाइरहेको आफूहरुलाई महशुस भएको उनीहरुको भनाइ छ।
मधेशी शहीद प्रतिष्ठानका सदस्य शुभम यादवले आफूहरु प्रतिष्ठानमा आएको ७-८ महिना भईसक्दा समेत तलबसम्म नपाएको गुनासो गर्नुभयो । गृह सञ्चार तथा कानून मन्त्रालयमा मुख्यमन्त्री कार्यालय सारिएपछि आफूहरुलाई व्यवस्थापन नै नगरी कार्यालय खाली गर्न दबाब समेत आइरहेको उहाँले आरोप लगाउनुभएकाे छ।
साेही प्रतिष्ठानका सदस्य यादवले प्रतिष्ठानको ऐन बनेको महिनौ बितिसक्दा समेत ऐन मन्त्रीपरिषदबाट स्वीकृति प्राप्त भएर प्रदेश सभामा लैजाने कुनै तयारी सरकारले नगरेको समेत बताउनुभयो।