केकी र स्वस्तिमाको तस्वीर दुरुपयोग गर्दै ठगी, सजग हुन अनुरोध

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पछिल्लो समय सेलिब्रेटीको नक्कली आइडी बनाएर सामाजिक सञ्जालमार्फत पैसा माग्ने र ठगी गर्ने क्रममा वृद्धि भएको छ । आफूहरूको नाम दुरुपयोग गर्दै ह्वाट्स एप र भाइबरबाट पैसा मागिएको गुनासो कलाकारले गरेका छन् ।

गत महिना संगीत क्षेत्रका चर्चित कलाकारको नक्कली आइडीमार्फत पैसा मागिएको गुनासो आएको थियो । यसपटक भने अभिनेत्रीद्वय केकी अधिकारी र स्वस्तिमा खड्काको नाम र तस्वीर दुरुपयोग गरेर पैसा मागिएको गुनासो छ ।

स्वस्तिमाले सामाजिक सञ्जालमा पैसा मागिएको च्याटको स्क्रिन सटसहित फेसबुकबाट त्यस्ता मेसेजमा नझुक्किन आग्रह गरेकी छन् । लेख्छिन्, ‘ मेरो नामको दुरुप्रयोग गर्दै ह्वाट्सएप भाइबरमा पैसा मेरा साथीहरूलाई माग्दै गरेको भेटिएको हुनाले त्यस्ता मेसेजहरुमा नझुक्किनु हुन सबैमा जानकारी गराउन चाहन्छु ।’

केकीले पनि केही दिनअघि आफ्नो नाम र तस्वीरको दुरुपयोग गरेर ह्वाट्स एप र भाइबरमार्फत पैसा मागिएको गुनासो गरेकी छिन् । उनले सजग रहन आग्रह गरेकी छन् ।

केकी लेख्छिन्, ‘मेरो नाम र तस्वीरको दुरुपयोग गरि ह्वाट्स एप र भाइबरमार्फत पैसा मागिरहेको भन्ने जानकारी प्राप्त भएको छ । यो कार्य कानुनी रुपमा पनि दण्डनीय छ र र सम्पूर्णलाई सजग रहन हार्दिक अनुरोध गर्दछु ।’

केही दिनअघि अभिनेत्री साम्राज्ञी शाहले पनि इन्स्टाग्राम स्टोरीमार्फत यस्तै गुनासो गर्दै सजग रहन अपिल गरेकी थिइन् । अन्य केही कलाकारले पनि यस्तै किसिमको गुनासो गर्दै सजग रहन अपिल गरेका छन् ।