ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा दिउँसो २ बजे बस्ने उक्त बैठकले पार्टीको आगामी १५औँ महाधिवेशनको टुंगो लगाउने अपेक्षा गरिएको छ।
यसअघि आइतबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा सोमबारका लागि सारिएको थियो।
गत असोज २८ गतेदेखि महाधिवेशनको कार्यतालिका र प्रक्रियाका विषयमा देखिएको आन्तरिक विवादमा सहमति जुटेसँगै आजको बैठक बस्न लागेको हो।
पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन र शीर्ष नेताहरूबीचको सहमति अनुसार कांग्रेसको १५औँ महाधिवेशन आगामी २०८२ पुस २६ देखि २९ गतेसम्म गर्ने तयारी गरिएको छ।
यही सहमतिलाई औपचारिक रूप दिन आजको बैठक महत्त्वपूर्ण मानिएको छ। बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिहरूलाई निर्देशन दिइएको छ।
आजको बैठकमा महाधिवेशनको कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गर्नेछन्।
आइतबार कार्यवाहक सभापति खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको टोलीसँग छलफल गरी सभापतिको आग्रह बमोजिम सहमतिको प्रस्ताव तयार पारेका हुन्।
विगतमा महामन्त्री र सहमहामन्त्रीहरूले फरक–फरक प्रस्ताव पेस गर्ने चलन भए पनि यसपटक विवाद कम गर्न कार्यवाहक सभापतिमार्फत नै एकीकृत प्रस्ताव लैजान लागिएको हो।
