-आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई थप सहज, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले निर्वाचन आयोगले देशभरका मतदानस्थलहरू पुनरावलोकन गरेको छ। पुनरावलोकनपछि मतदानस्थलको संख्या उल्लेखनीय रूपमा परिवर्तन भएको आयोगले जनाएको छ।
आयोगको आइतबार बसेको बैठकले १६८ नयाँ मतदानस्थल थप्ने र उपयोगमा नरहेका, अपायक, जीर्ण वा सञ्चालनयोग्य अवस्थामा नभएका ९३ मतदानस्थल हटाउने निर्णय गरेको हो।
यससँगै देशभर कायम मतदानस्थलको संख्या १० हजार ८९२ बाट बढेर १० हजार ९६७ पुगेको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुनरावलोकनको क्रममा मतदानस्थलको नाम, ठेगाना लगायतमा रहेका त्रुटि सच्याइएका छन्। साथै, मतदातालाई बढी पायक पर्ने स्थलमा केही मतदानस्थान आंशिक वा पूर्ण रूपमा स्थानान्तरण गरिएको छ भने केहीलाई साविककै अन्य मतदानस्थलमा समायोजन गरिएको छ।
मतदानस्थल पुनरावलोकनमा सहयोग पुर्याउने वडा, जिल्ला तथा केन्द्रीय तहका समिति, सबै राजनीतिक दल तथा सरोकारवालाप्रति आयोगले धन्यवाद व्यक्त गरेको छ। आयोगका अनुसार, आगामी निर्वाचनलाई थप सहज, व्यवस्थित र विश्वसनीय बनाउन यो पुनरावलोकन महत्वपूर्ण कदमका रूपमा रहनेछ।