नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई लक्षित गरी सिमरा विमानस्थलमा भएको अवरोध र त्यसपछि उत्पन्न राजनीतिक तनावले एमाले पंक्तिलाई थप आक्रामक बनाएको छ। एमाले पोखरा महानगर कमिटीका सचिव सुशील बस्नेतले सामाजि संजाल फेसवुकमा लेख्दै सरकारलाई ४०-५० जनाको अपराधीको जत्थालाई तह लगाउन र शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै यस्तो अवस्थामा चुनाव सम्पन्न गर्ने कल्पना गर्नु ‘मुर्खता’ हुने ठोकुवा गरेका छन्। उनले सरकारलाई सिधै चुनौती दिँदै, यदि हिम्मत भए नेकपा (एमाले) माथि प्रतिबन्ध लगाएर देखाउन भनेका छन्।
उनले महेश बस्नेत ‘ब्यक्ति नभई हिम्मत, शाहस र निडरताको पर्यावची नाम’ भएको संज्ञा दिँदै एमालेको बढ्दो प्रभाव रोक्न खोज्नु ‘शान्त तलाउको बाँध फोड्न खोज्नु’ सरह हुने चेतावनी दिएका छन्।
“बढ्दो एमालेको प्रवाहलाई रोक्न खोज्छौ भने, शान्त तलाउको बाँध फोड्न खोज्छौ भने त्यसले भयानक सुनामीको रूप धारण गर्न सक्छ, जसलाई रोक्न सक्ने तिमीहरूसँग कुनै तागत हुने छैन।”
उनले सरकारलाई लुकेर वा पछाडिबाट कायरतापूर्वक आक्रमण गर्ने गतिविधि तुरुन्तै रोक्न चेतावनी दिँदै, हिम्मत भए तिथि, मिति र समय तोकेर युद्धको घोषणा गर्न चुनौती दिएका छन्। एमालेका ‘लाल योद्धाहरू टाउकोमा कफन बाँधेर’ लडाइँको मैदानमा उत्रन तयार रहेको उनको भनाइ छ।
सिमरामा नेताद्वय पोखरेल र बस्नेतलाई अवतरण गर्न नदिने भन्दै युवाहरूले प्रदर्शन गरेपछि काठमाडौँबाट उड्न लागेको जहाज रोकिएको थियो, जसपछि सिमरामा कर्फ्यूसमेत लगाइएको थियो।