नेपाल र जापानबिच ‘बाढीले क्षति पुर्याएको सिन्धुली सडकको आपतकालीन पुनर्निर्माण कार्यक्रम’का लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। जापानले नेपाललाई २.८ अर्ब जापानी येन ( करिब दुई अर्ब ३० करोड रुपैयाँ) अनुदान दिने भएको हो।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा अर्थसचिव डा. घनश्याम उपाध्याय र नेपालस्थित जापानी राजदूत माएदा तोरुले हस्ताक्षर गरे भने अनुदान सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव डा. धनीराम शर्माले नेपालतर्फबाट र जापान अन्तर्राष्ट्रिय सहकार्य निकायका प्रमुख मात्सुजाकी मिजुकीले जापानतर्फबाट हस्ताक्षर गरेका छन्।
यस कार्यक्रमअन्तर्गत बाढीले क्षति पुर्याएका सिन्धुली सडकका विभिन्न भागहरूको मर्मत र पुनर्निर्माण गरिनेछ। जापानले उपलब्ध गराउने अनुदान सहयोगले सडक सञ्जाल सुधार र यातायात सहज बनाउन सहयोग पुग्ने जनाइएको छ।