राष्ट्रपति रामचन्द्र पौडेलले कतारको चारदिने भ्रमण गर्ने भएका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकले १७ देखि २० कात्तिकसम्म हुने राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको छ । कतार सरकार र संयुक्त राष्ट्रसंघको इकोनोमिक एन्ड सोसल काउन्सिल (आर्थिक तथा सामाजिक परिषद्)ले आयोजना गर्न लागेको विश्व सामाजिक विकास शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति जान लागेका हुन् ।
दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलन (सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट) नाम दिइएको कार्यक्रममा सहभागी हुन अन्य देशबाट पनि शीर्ष नेता सहभागी हुनेछन् । काउन्सिलको अध्यक्ष हाल संयुक्त राष्ट्रसंघ (न्युयोर्क)का लागि नेपाली स्थायी प्रतिनिधि (राजदूत) लोकबहादुर थापा छन् ।
कतारको दोहास्थित राष्ट्रिय सममेलन केन्द्रमा १८ देखि २० कात्तिकसम्म सम्मेलन आयोजना हुँदै छ । सञ्चारमन्त्री जगदीश खरेलले राष्ट्रपतिको भ्रमण औपचारिक भएको जानकारी दिए । कतारका अमिर (राष्ट्राध्यक्ष) शेख तामिम बिन हमाद अल थानीको औपचारिक निमन्त्रणामा राष्ट्रपति जान लागेका हुन् । राष्ट्रपतिले सम्मेलनलाई सम्बोधन गर्नेसमेत कार्यक्रम छ । कतारका अमिरले गत ११ वैशाखमा नेपालको राजकीय भ्रमणका बेला राष्ट्रपति पौडेललाई निमन्त्रणा दिएका थिए ।
सम्मेलन ३० वर्षपछि हुन लागेको छ । पहिलो शिखर सम्मेलन डेनमार्कको कोपनहेगनमा ०५२ मा भएको थियो । सम्मेलनले गरिबी निवारण, समावेशी विकासलगायत विभिन्न विषयमा १० प्रतिबद्धता जनाएको थियो । ती एजेन्डामा पुन: जोड दिँदै कार्यान्वयनमा प्रतिबद्धता दोहोर्याइने कतार सरकारले वेबसाइटमा उल्लेख गरेको छ ।
‘विश्वमा बढ्दो असमानता, जनसांख्यिक परिवर्तन तथा तीव्र प्रविधि तथा वातावरणीय रूपान्तरणका बिच दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलन आयोजना हुन लागेको छ,’ राष्ट्रसंघीय परिषद्ले भनेको छ, ‘शिखर सम्मेलनको उद्देश्य सामाजिक प्रगतिलाई अगाडि बढाउँदै दिगो विकासको यात्रामा कसैलाई पनि नछाड्ने सुनिश्चित गर्नु हो ।’
काउन्सिलका अनुसार विश्वका नेताहरूले सम्मेलनबाट सामाजिक प्रगतिका रणनीतिहरू पुन: परिभाषित गर्नेछन् भने विश्वव्यापी साझेदारी थप सुदृढ गर्नेछन् ।
‘संवाद, सहकार्य र साझा समाधानका लागि सम्मेलनले एउटा महत्वपूर्ण मञ्चका रूपमा काम गर्नेछ, यसले सरकार, अन्तर्राष्ट्रिय संस्था, संयुक्त राष्ट्रसंघीय प्रणाली, नागरिक समाज, सहकारी संस्था, शैक्षिक क्षेत्र, निजी क्षेत्र र विज्ञहरूलाई समावेशी सामाजिक विकासका लागि सहकार्य गर्न एकजुट गर्नेछ,’ काउन्सिलले भनेको छ ।