ओलीको ६ बुँदे मार्गचित्र : संसद् पुनर्स्थापनापछि जेन–जीसहितको सर्वदलीय सरकार, २१ फागुनमै चुनाव 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

एमाले अध्यक्ष केपी ओलीले विघटित प्रतिनिधिसभा पुनर्स्थापनापछि जेन–जीसहितको सहभागितामा सर्वदलीय सरकार गठन गरेर आगामी २१ फागुनमै निर्वाचन गर्न सकिने मार्गचित्र अगाडि सारेका छन् । 

२३ र २४ भदौको जेन–जी आन्दोलनबाट सत्ताच्युत तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले मंगलबार भक्तपुरको गुन्डुस्थित निवासबाट त्यस्तो नयाँ मार्गचित्रसहितको प्रस्ताव अगाडि सारेका हुन् । एमाले आबद्ध मानव अधिकार क्षेत्रमा कार्यरतको संगठन मानव अधिकार एलायन्सको प्रतिनिधिमण्डलसँग ओलीले त्यस्तो प्रस्ताव अगाडि सारेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । ओलीले अगाडि सारेको मार्गचित्रलाई उपमहासचिव प्रदीप ज्ञवालीले पनि पुष्टि गरे ।

‘अध्यक्ष कमरेडले अबको मार्गचित्रका रूपमा संसद् पुनर्स्थापना, त्यसपछि राजनीतिक दलहरूको तर्फबाट जेन–जीहरूसँग पनि वार्ता र सर्वदलीय सहमतिको सरकारसँगै संविधान संशोधनका प्रक्रिया अगाडि बढाएर निर्वाचन सम्पन्न गरी निर्वाचित संसद्मार्फत निर्वाचित सरकारलाई नै सत्ता हस्तान्तरण गर्नुपर्छ भन्दै आउनुभएकै प्रस्ताव हो,’ ज्ञवालीले भने, ‘सम्भवत: अहिले अध्यक्षको तर्फबाट त्यही प्रस्ताव मार्गचित्रका रूपमा बाहिर आएको हुन सक्छ । तर, त्यो मार्गचित्र पूरा हुँदा चुनाव २१ फागुनभित्रै सम्भव हुन्छ कि हुँदैन ठोकुवा गरिहाल्नचाहिँ सकिँदैन ।’ विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पनि दायर भइसकेकाले पुनर्स्थापना हुन सक्ने विश्वास एमालेको छ । रिटमाथि सर्वोच्चले बुधबार पहिलो पेसी तोकेको छ ।

‘वर्तमान संकटको समाधानका लागि एमाले अध्यक्ष केपी ओलीको मार्गचित्र’ नाम दिएर ६ वटा बुँदा रिजालले मंगलबार सार्वजनिक गरेका छन् । जसअनुसार असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभाको पुनर्स्थापना गर्नुपर्ने ओलीको पहिलो प्रस्ताव छ । ३१ असोजमा सम्पन्न केन्द्रीय कमिटीबाट समेत एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनपरिचालन र जनआन्दोलनमार्फत दबाब दिने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा पुनर्स्थापनालगत्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरूको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था गर्न सकिने ओलीको दोस्रो मार्गचित्र छ । पुनर्स्थापित प्रतिनिधिसभापछि आफू दोहोरिएर प्रधानमन्त्री नबनेसमेत ओलीले मार्गचित्रमा प्रस्ट्याएका छन् । ‘जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुन: प्रधानमन्त्रीको दाबी नगरिने स्पष्ट’ रिजालले ओलीको तर्फबाट सार्वजनिक गरेको मार्गचित्रमा भनिएको छ ।

त्यसपछि जेन–जीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठन गर्नुपर्ने भन्दै ओलीले त्यही सरकाले तीन महिनाभित्र निर्वाचन गर्ने भन्दै त्यसो गर्दा २१ फागुनकै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव भएको जिकिर पनि गरेका छन् । संविधान र लोकतन्त्रलाई लिकमा ल्याउने सबै कामको सुनिश्चितताका लागि राजनीतिक दलहरूबिच अग्रिम सहमति निर्माण गरिनुपर्ने ओलीको प्रस्ताव रहेको पनि रिजालले बताए ।