भारतमा विलय भएको ५० वर्षपछि सिक्किममा हुन लागेको पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपाल र भारत भिड्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भारतमा विलय भएको ५० वर्षपछि बुधबार पहिलो पटक सिक्किमले अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना गर्दैछ।

त्यसका लागि नेपाली महिला टोली भारतीय टोलीसँग भिड्न आज सिक्किम पुग्दैछ।

सोमबार सिलोङमा घरेलु टोली भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली सिक्किमको गान्तोक गएको हो। यो खेल बिहीबार हुने भनिए पनि बुधबारका लागि सारिएको छ। जसका करण नेपाली हतार-हतार गान्तोक गएका हुन्।

सोमबार भारतविरूद्ध २-१ गोलको जित निकाल्दा कप्तान सावित्रा भण्डारी साम्बाले दुवै गोल गरेकी थिइन। बुधबार कप्तान साम्बासहित स्टार मिडफिल्डर प्रिति राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा भने नेपाली टोलीमा हुनेछैनन्।

सिक्किममा हुने यो पहिलो अन्तर्राष्ट्रिय खेल भए पनि अनौपचारिक मात्र हुने भएको छ।  किनभने यो खेल फिफा विन्डोमा हुन लागेको भने होइन। त्यसका कारण यसलाई अन्तर्राष्ट्रिय मान्यता भने हुनेछैन।

पहिलो पटक अन्तर्राष्ट्रिय खेल हुने भएपछि सिक्किम फुटबल संघका अध्यक्ष मेनला एथेन्पाले लिखित वक्तव्यमा भनेका छन्, ‘सिक्किम फुटबलको इतिहासमा पहिलो पटक भारतको सिनियर राष्ट्रिय महिला फुटबल टोली र नेपालको सिनियर राष्ट्रिय महिला फुटबल टोलीबीच गान्तोकको पाल्जोर स्टेडियममा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ।’

दक्षिण एसियाली फुटबल महासंघका महासचिव पुरुषोत्तम कट्टेल पनि यस खेलमा अतिथिको रूपमा उपस्थित हुनेछन्।

भारतीय महिला टोली २२ वर्षपछि एसिया कप २०२६ का लागि छनोट भएकाले यो खेलले धेरैको चासो जगाएको छ। भारतीय टोलीकी खेलाडी कालिम्पोङकी अन्जु तामाङले पनि खेल्दैछन्।

सिक्किम फुटबल संघका वरिष्ठ उपाध्यक्ष श्याम प्रधानले अन्जु तामाङले सिक्किममा फुटबल कौशल निखारेकाले उनी खेल्दा रौनक थपिने बताएका छन्। यस्तै भारतको यू-१७ महिला टोलीबाट खेल्ने सिक्किमकी अभिष्ठा बस्नेत उपस्थित हुने सम्भावना छ।

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) यस खेलका प्रमुख अतिथि हुनेछन्। उनले मंगलबार गान्तोकमा खेलाडी र अफिसियलका लागि भव्य रात्रिभोजको पनि आयोजना गर्दैछन्।