कुटपिटबाट महिलाको मृत्यु, चारजना प्रहरी नियन्त्रणमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सिराहाको लहान नगरपालिका– ५, खुट्टीपारी पर्तीटोलमा पसलको सामान चोरेको विषयमा गुनासो गर्दा भएको कुटपिटमा एक महिलाको मृत्यु भएको छ।

स्थानीय मो. सदिक मियाँकी श्रीमती करिब ५० वर्षीया नुरजहाँ खातुनको कुटपिटबाट ज्यान गएको हो। कुटपिटबाट गम्भीर घाइते भएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार मंगलबार बिहान भएको कुटपिटमा घाइते भएकी खातुनलाई तत्काल स्थानीयले उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्‍याएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले बताए। उनका अनुसार प्रहरीले कुटपिटको घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि तीन महिलासहित चारजनालाई नियन्त्रणमा लिएको छ।

‘मृतक परिवारले कुटपिटको घटनामा संलग्न रहेका पाँचजनाविरुद्ध किटानी जाहेरी दिएको छ,’ उनले भने, ‘किटानी जाहेरीमा नाम रहेका चारजनालाई नियन्त्रणमा लिइएको छ, एकजना पुरुष फरार रहेकाले खोजी भइरहेको छ।’

स्थानीयका अनुसार मृतक महिलाले खुट्टी खोला किनारस्थित छठ पूजाको घाटनजिक थापेको खुद्रे किराना पसलबाट मंगलबार बिहान स्थानीय एक युवकले सामान चोरेको विषयमा उनको हजुरबालाई गुनासो गर्न जाँदा ‘मेरो नातिलाई चोरको आरोप लगाउने’ भन्दै निर्घात कुटपिट गरेका थिए।