हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको चेतावनी, पोखराका मेयर आचार्यद्वारा पर्यटकलाई सतर्क रहन आग्रह

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा आगामी केही दिन भारी वर्षा र हिमपातको उच्च सम्भावना रहेकाले पर्यटक र सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले गर्दा गण्डकी, बागमती र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्कादेखि भारी हिमपात समेत हुन सक्नेछ। जोमसोम र मनाङ जस्ता ठाउँमा औसत भन्दा बढी हिउँ परिरहेको अवस्थाले चिसो अत्यधिक बढ्ने र दैनिक जनजीवन, पर्वतारोहण तथा पदयात्रामा समेत नकारात्मक असर पर्ने देखिएको छ।

मेयर आचार्यले विषम मौसमको जोखिमलाई ध्यान दिँदै पर्वतीय क्षेत्रको यात्रा गर्नुअघि आवश्यक सम्पूर्ण सूचना र मौसमको जानकारी लिएर मात्रै जान अनुरोध गर्नुभएको छ। उहाँले सम्भावित जोखिम न्यूनीकरण गर्न पर्यटकहरूलाई अनुभवी गाइड (पदमार्ग प्रदर्शक) को सहयोग लिन र अत्यावश्यक तयारीका साथ यात्रा गर्न सुझाव दिनुभएको छ।

पोखरालाई पर्यटकीय राजधानी बनाउने अभियानका अगुवा मेयर आचार्यले पर्यटक सुरक्षालाई महानगरपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभयो। कुनै पनि सहयोग वा जानकारीका लागि पोखरामा रहेका पर्यटकहरूले पर्यटन वोर्ड, पर्यटन प्रहरी वा भिजिट एयर २०२५ को सचिवालयमा तत्काल सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ।
उहाँले प्राकृतिक विपत्तिले पर्यटन क्षेत्रमा असर पारे पनि सबैको सामूहिक प्रयासले पोखराको पर्यटनलाई थप सुरक्षित र आकर्षक बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो।