भारतीय केरालाई विस्थापित गर्दै नेपाली केरा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

प्राय हरेक वर्ष छठ नजिकिँदै गर्दा जलेश्वर लगायत महोत्तरीको बजारमा भारतीय केरा बिक्री वितरणको लागि आउने गरेपनि यस पटक भने जलेश्वर भन्सारबाट एक गाडी समेत भारतीय केरा नेपाल नभित्रिएको जलेश्वर भन्सार कार्यालयले जनाएको छ । जलेश्वर भन्सार कार्यालयका निमित्त सूचना अधिकारी नायवसुब्बा प्रदिप साहले यस पटक भारतीय नाकाबाट केरा नआएको बताए ।

भारतीय केरा लगायतका फलफुल नाकामा प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गतको क्वारेन्टाईन कार्यालयले हेर्ने गरेको र गुणस्तर जाँचपछि मात्र नेपाल भित्रिन यस कार्यालयले स्विकृति दिने हुँदा यस पटक भने एउटै गाडीको पनि स्विकृति नआएको उनले बताए ।

यता जलेश्वर, रामगोपालपुर र गौशाला लगायतको बजारमा नेपालकै त्रिवेणी, विर्तामोड र भंटावारी र निजगढबाट आएको केराले बजार भरिभराउ छ । नेपालमै केराको राम्रो उत्पादन हुन थालेको र गुणस्तर पनि भारतको भन्दा राम्रो भएपछि आफ्नै उत्पादनलाई व्यापारीहरुले समेत प्रोत्साहन गर्न थालेका छन् ।  भारतमा अहिले केरा नेपालभन्दा महंगो रहेको र गुणस्तर समेत नेपालमा जस्तो नभएकोले बजारमा अहिले नेपाली केराकै माग रहेको व्यापारीहरुको भनाई छ ।