नेपाल आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गत एसिया तथा इष्ट एसिया प्यासिफिकको च्याम्पियन भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा ९ टोली सहभागी हुँदा नेपाल च्याम्पियन भयो ।
यसअघि नै नेपाल भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा छनोट भइसकेको छ । यो विश्वकप ७ फेब्रुअरी देखि ८ मार्चसम्म हुँदैछ ।
सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई १२४ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१२ रनको लक्ष्य दिएको थियो । प्रतियोगितामा नेपालले बनाएको यो नै ठूलो स्कोर हो । प्रत्युत्तरमा सामोआले सात विकेटको क्षतिमा मात्र ८७ रन बनायो ।
योसँगै नेपाल सुपर सिक्समा ५ खेलबाट सर्वाधिक १० अंकसहित शीर्ष स्थानमा रह्यो । प्रतियोगितामा नेपाल एकमात्र अपराजित टिम बनेको छ ।
अन्तिम खेलमा सामोआलाई हराउँदा आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धसतक बनाएका थिए । बलिङतर्फ ललितराजवंशीले तीन विकेट लिएका हुन्।