जेन–जी प्रदर्शनका क्रममा जिल्ला कारागार कार्यालय कास्कीबाट भागेका कुल ७७३ कैदीबन्दी तथा थुनुवामध्ये ८१ जनालाई प्रहरीले पुनः पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी, प्रहरी नायव उपरिक्षक हरिबहादुर बस्नेतका अनुसार, जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका एकाइहरूबाट खटिएको टोलीले विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
कारागार व्यवस्था विभागले फरार कैदीबन्दी तथा थुनुवाहरूलाई असोज २० भित्र स्वस्फूर्त कारागारमा फर्कन अपिल गरेको थियो । तोकिएको समयसीमाभित्र नफर्किएपछि प्रहरीले उनीहरूको खोजी तीव्र पारेको थियो ।
पक्राउ परेका ८१ जनामध्ये विभिन्न मुद्दाका कैदीबन्दी तथा थुनुवाहरू रहेका छन् । यसमा चोरी मुद्दाका २५ जना, जबर्जस्ती करणी मुद्दाका १६ जना, लागू औषध मुद्दाका १६ जना, ज्यान मार्ने उद्योग मुद्दाका नौजना, कर्तव्य ज्यान मुद्दाका आठजना, अभद्र व्यवहार मुद्दाका चारजना, सवारी अंगभंग मुद्दाका एकजना, कुटपिटबाट अंगभंग मुद्दाका एकजना र मानव बेचबिखन मुद्दाका एकजना रहेका छन् । पक्राउ परेका सबैलाई कारागार कार्यालयमा बुझाइएको प्रहरी नायव उपरिक्षक बस्नेतले जानकारी दिए ।
हालसम्म ५२१ जना कैदीबन्दी तथा थुनुवाहरू कारागारमा फर्किसकेका छन् । तर, अझै पनि २५२ जना फरार रहेका छन् र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।