अफगानिस्तानमा तालिबान सरकारले देशभर सञ्चार सेवा बन्द (ब्ल्याकआउट) गरेको छ। ‘अनैतिकता’ नियन्त्रण गर्ने भन्दै तालिबानले केही हप्ताअघिदेखि फाइबर-अप्टिक इन्टरनेट तारहरू काट्न सुरु गरेको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्महरूले राजधानी काबुलस्थित आफ्ना कार्यालयहरूसँग सम्पर्क गुमाएको बताएका छन्। अफगानिस्तानभरि मोबाइल इन्टरनेट र स्याटेलाइट टिभी सेवाहरू पनि प्रभावित भएका छन्।
सन् २०२१ मा सत्ता कब्जा गरेदेखि तालिबानले आफ्नो इस्लामी सरिया कानुनको व्याख्याअनुसार थुप्रै प्रतिबन्धहरू लगाएको छ। अर्को सूचना जारी नभएसम्म सञ्चार सेवा बन्द जारी रहने बताइएको छ।
काबुल विमानस्थलबाट हुने उडानहरूमा पनि अवरोध आएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बिबिसीले जनाएको छ। फ्लाइटराडर२४ का अनुसार मंगलबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने वा अवतरण गर्ने तालिकामा रहेका कम्तीमा आठ उडान रद्द गरिएका छन्।