एमबिबिएस पढ्न चीन गएका सुनिल मल व्यवसायमा जम्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

हेल्थ असिस्टेन्ट (एचए) पास गरेर केही समय काम गरेपछि सुनिल कुमार साह एमबिबिएस पढ्न सन् २०१३ मा चीन गए।

चीनमा नेपाली रूद्राक्ष बिक्री हुन्छ भन्ने थाहा पाएपछि सन् २०१४ मा पहिलो पटक २०/२५ किलो रूद्राक्ष मगाए अनि सडकमै राखेर बेचे पनि। एक पटक, दुई पटक गर्दै धेरै पटक रूद्राक्ष लगेर बेचेपछि उनलाई अरू काम गर्न हिम्मत आयो।

‘चीनमा विदेशीलाई कम्पनी खोल्न नदिने भएकाले मैले साथीको नामबाट दर्ता गराएँ। सन् २०१५ देखि कम्पनी खडा गरेर कृषिसम्बन्धी सामग्री नेपाल पठाउन सुरू गरियो,’ उनले भने, ‘चीनमा क्याम्पस पढ्दै गरेको विद्यार्थीले कुनै व्यवसाय सुरू गरेमा उसलाई सरकारले ठाउँ उपलब्ध गराउने र त्यसको भाडा समेत तिर्न नपर्ने भएकाले काम गर्न पनि सजिलो भयो।’

सुरूमा उनले ग्रीन हाउसका लागि चाहिने सामग्री, मल लगायतका विभिन्न कृषि सामग्री नेपाल पठाउन थाले।

सन् २०१८ मा उनले आफूसँगै एमबिबिएस पढ्दै गरेकी चिनियाँ युवती लिन्डासँग बिहे गरे। लिन्डाका बुवा जुन कृषि इन्जिनियर हुन् भने उनको लिहाइको एग्रिकल्चर नामको मल उद्योग समेत छ।

सन् २०१९ मा सुनिल र लिन्डा दुवैले एमबिबिएस सके। तर उनीहरूले डाक्टरी गरेनन्। सुनिलले मलको निर्यात सम्हाले अनि लिन्डाले चीनको आन्तरिक बिक्रीको जिम्मा लिइन्।

‘मेरो ससुराले उद्योगको जिम्मेवारी लिनुहुन्छ। श्रीमतीले चीनभित्रको बिक्री हेर्छिन्। मैले चीन बाहिरको निर्यात हेर्छु,’ उनले भने, ‘हामीले मध्यपूर्वका साउदी अरब, इरान, सिरिया, टर्की लगायतका देशमा मल पठाउँछौं। त्यस्तै श्रीलंका, पाकिस्तान, भारत र अहिले नेपाल पनि पठाउन सुरू गरेका छौं।’

सुनिलका अनुसार सान्दोङ प्रान्तको विफाङ सिटीमा रहेको उद्योगमा मल उत्पादन हुन्छ। यो मलले युरिया र प्राङ्गरिक दुवै मलको काम गर्छ।यसले युरिया र डियपी मललाई विस्थापित गर्छ भने बिरूवालाई चाहिने भिटामिन र मिनरल्स समेत दिन्छ। यो मल प्रयोग गरेपछि बिरूवालाई पानी मात्र दिए पुग्ने उनको दाबी छ।

‘नेपालमा सधैंजसो मलको अभाव हुन्छ। यसको निर्यातले केही सहज बनाउन सक्छ। युरिया मलमा पाइने नाइट्रोजनले माटो बिगार्ने भएकाले यो मलमा त्यो खतरा रहँदैन,’ उनले भने, ‘धेरै देशमा युरिया मललाई विस्थापित गरिसकिएको छ। सुमद्रमा पाइने फ्युकस नामको वनस्पती र गड्यौलामा पाइने इन्जाइमलाई मिलाएर बनाइएकाले यसका धेरै फाइदा छन्।’