फेवातालमा क्याकिङको शुल्क ३०० रुपैयाँ तोकियो, महेन्द्र नेपालीको संयोजकत्वमा नयाँ समिति गठन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
पोखरा — पोखरास्थित प्रसिद्ध फेवातालमा जलखेलकुद व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूले क्याकिङको दररेटमा एकरूपता ल्याउने निर्णय गरेका छन्। अबदेखि सबै कम्पनीहरूले फेवातालमा क्याकिङ गराउँदा अनिवार्य रूपमा ३०० रुपैयाँ दररेट कायम गर्नुपर्नेछ।
हल्लञ्चोकस्थित सामुदायिक प्रहरी केन्द्रको भवनमा सम्पन्न फेवाताल सर्फिङ तथा क्याकिङ व्यवसायीहरूको विशेष भेलाले उक्त निर्णय गरेको हो। करिब ५० जना व्यवसायीहरूको उपस्थितिमा भएको उक्त भेलाले महेन्द्र नेपालीको संयोजकत्वमा २२ सदस्यीय नयाँ तदर्थ समितिसमेत सर्वसम्मत रूपमा गठन गरेको छ।
गठित समितिलाई ३ महिनाको कार्यावधि दिइएको छ। यो समितिले आगामी ३ महिनाभित्र संघको नयाँ विधान तयार गर्नेछ र सोही विधानका आधारमा पुनः नयाँ स्थायी कार्यसमिति चयन गर्नेछ। तबसम्मका लागि यस समितिले व्यवसायीहरूको हकहित र व्यवसाय व्यवस्थापनको काम सम्हाल्नेछ।
व्यवसायलाई व्यवस्थित बनाउन र समितिलाई सही मार्गदर्शन दिन ३ सदस्यीय सल्लाहकार समितिसमेत चयन गरिएको छ। सल्लाहकारहरूमा युवा व्यवसायी विकास पहारी, विष्णु पहारी र कुश भुजेल रहनुभएको छ।
नेपालीको नेतृत्वमा गठित २१ सदस्यीय कार्यसमितिमा विमला जलारी, मनु पहारी, भिम पुन, कुमार कार्की, अमृत गुरुङ, अर्जुन थापा, दिपक बोगटी, सम्राट शाह, गणेश नेपाली, नारायण थापा, रामजी परियार, रोमान जलारी, चन्द्र बा. जलारी, विनोद परियार, भरत थापा, विशाल श्रेष्ठ, केशव नेपाली, दिपक गुरुङ, सोवित परियार र मिलन पहारी रहेका छन्।
पोखराको पर्यटन प्रवर्द्धनका साथै साहसिक जलखेलकुदलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन यो निर्णय र नयाँ समितिले महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीहरूले विश्वास लिएका छन्।

See less