तराई–मधेस घटनाको निष्पक्ष छानबिन र दीर्घकालीन समाधान खोज्न राप्रपाको माग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

तराई–मधेस घटनाको निष्पक्ष छानबिन र दीर्घकालीन समाधान खोज्न राप्रपाको मागराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तराई–मधेस क्षेत्रमा पछिल्ला दिनमा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा दीर्घकालीन समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार काठमाडौँमा बसेको बैठकपछि प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्ति अनुसार विभिन्न घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरको रेखदेख गर्ने व्यक्तिको रहस्यमय हत्या भएको घटनाको पनि राप्रपाले निन्दा गरेको छ।

राप्रपाले हिंसा, साम्प्रदायिक विद्वेष, धार्मिक असहिष्णुता र सामाजिक द्वन्द्व कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने स्पष्ट गर्दै प्रहरीको गोली प्रहारबाट नागरिकको ज्यान जानुमा भिड व्यवस्थापन र प्रशासनिक तयारीमा गम्भीर कमजोरी देखिएको जनाएको छ। समस्याको समाधान दमन र बल प्रयोगबाट नभई संवाद, सहिष्णुता, विधिको शासन र पारस्परिक सम्मानका आधारमा खोजिनुपर्ने पार्टीको धारणा छ।

बैठकले तराई–मधेसका विभिन्न क्षेत्रमा हिन्दु चाडपर्व तथा धार्मिक महोत्सवका बेला पटक–पटक उत्पन्न हुने तनाव र साम्प्रदायिक विवादप्रति सरकारको विशेष ध्यानाकर्षण गराउँदै यस्ता घटनाको कारण, सुरक्षा व्यवस्थाको कमजोरी तथा सम्भावित योजनाबद्ध पक्षबारे गहिरो अध्ययन गर्न माग गरेको छ। यस्ता घटना स्थायी रूपमा अन्त्य गर्न सर्वपक्षीय समिति गठन गरी तत्काल संवाद प्रक्रिया सुरु गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने सुनिश्चितता गर्न पनि राप्रपाले सरकारसँग आग्रह गरेको छ।

राप्रपाले प्रत्येक नेपालीले संविधान र कानुनले सुनिश्चित गरेको अधिकारभित्र रही आफ्नो धर्म, संस्कृति र परम्पराको अभ्यास निर्भयपूर्वक गर्न पाउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्ने उल्लेख गरेको छ। शृङ्खलाबद्ध हिंसात्मक घटनाप्रति राज्यको उदासीनताले देशलाई द्वन्द्वतर्फ धकेल्ने जोखिम बढाएको भन्दै सबै पक्षलाई विश्वासमा लिएर दीर्घकालीन शान्तिका लागि राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा जोड दिएको छ।

बैठकले २०६२/६३ को राजनीतिक परिवर्तनपछि अपनाइएको वैचारिक तथा संवैधानिक मार्गचित्रमाथि गम्भीर राष्ट्रिय समीक्षा आवश्यक भएको निष्कर्ष पनि निकालेको छ। राष्ट्रिय पहिचान, सांस्कृतिक निरन्तरता र सामाजिक एकतालाई पर्याप्त महत्त्व नदिँदा अपेक्षित राष्ट्रिय एकता सुदृढ हुन नसकेको र समय–समयमा देखिने सामाजिक तथा धार्मिक तनावले त्यसतर्फ पुनर्विचार आवश्यक रहेको पार्टीको ठहर छ।

राप्रपाले वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापनाको आफ्नो एजेन्डा कुनै धर्म, समुदाय वा सम्प्रदायको अधिकार सीमित गर्ने उद्देश्यबाट प्रेरित नभएको स्पष्ट गरेको छ। बरु नेपालको ऐतिहासिक पहिचान, राष्ट्रिय एकता, सांस्कृतिक निरन्तरता तथा सबै नागरिकको धार्मिक स्वतन्त्रता र समान अधिकारलाई संस्थागत रूपमा सुनिश्चित गर्ने राष्ट्रिय अवधारणाका रूपमा यसलाई निरन्तर उठाउँदै आएको पार्टीले जनाएको छ।

पार्टीले पछिल्ला दुई दशकको राजनीतिक अभ्यासले हिन्दु राष्ट्रको आवश्यकता पुष्टि गरेको दाबी गर्दै यस विषयमा राष्ट्रिय बहस सुरु गर्न सबै राजनीतिक दल, सरोकारवाला र नागरिकसमक्ष आह्वान गरेको छ।

राप्रपाले अन्त्यमा सम्पूर्ण नेपाली नागरिकलाई संयम, विवेक, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै नेपाली समाजको शक्ति विभाजनमा नभई एकता, सहअस्तित्व र साझा राष्ट्रिय उद्देश्यप्रतिको प्रतिबद्धतामा निहित रहेको उल्लेख गरेको छ।

12