ढटेलो तेलतर्फ बढ्दो आकर्षण : जुम्ली महिलाको आम्दानीको नयाँ आधार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बिहानको उज्यालोसँगै चन्दननाथ नगरपालिका–४ की मुनकौरा बुढा काँडाले भरिएको ढटेलोको झाङतिर लाग्छिन्। पिठ्युँमा निगालोको छान्नो, हातमा पञ्जा र लठ्ठी बोकेर उनी दिनभरि ढटेलो टिप्छिन्। साँझ घर फर्किँदा उनीसँग केवल दाना मात्र हुँदैन, परिवार पाल्ने आशा पनि हुन्छ।

जंगलमा बेवारिसे उम्रिने ढटेलो अहिले जुम्लाका ग्रामीण महिलाका लागि नगद आम्दानीको मुख्य आधार बन्न थालेको छ। ढटेलोको दानाबाट निकालिने तेल बजारमा प्रतिलिटर एक हजार रुपैयाँसम्ममा बिक्री हुन थालेपछि गाउँ–गाउँमा यसको संकलन तीव्र बनेको हो।

‘पहिले यसको मूल्य थाहा थिएन,‘ मुनकौराले भनिन्, ‘घरमै प्रयोग गर्थ्यौँ। अहिले बेच्न मिल्ने भएपछि सबै जंगलतिर लागेका छन्।‘

उनका अनुसार पहिलो वर्ष ४५ लिटर र गत वर्ष ३५ लिटर तेल निकालेकी थिइन्। यो वर्ष ढटेलो कम फले पनि झण्डै ५० लिटर तेल निकाल्ने गरी दाना संकलन गरिसकेको उनले बताइन्।

No description available.

जुम्लाका ग्रामीण बस्तीमा अहिले बिहानै महिलाहरू ढटेलो टिप्न जंगल पस्ने दृश्य सामान्य बनेको छ। काँडाले शरीर नघोचोस् भनेर उनीहरू बाक्लो कपडा, पञ्जा र लठ्ठीको सहारा लिन्छन्।

स्थानीय धनलाल रावत भन्छन्, ‘ढटेलो टिप्नु सजिलो काम होइन। काँडाले शरीरभर घोच्छ। तर मूल्य राम्रो पाइने भएपछि महिलाहरू दिनभरि जंगलमै बिताउँछन्।‘

पहिला दियो बाल्न, मालिस गर्न र धार्मिक कार्यमा प्रयोग हुने ढटेलोको तेल अहिले आयातित तेलको विकल्प बन्न थालेको छ।

चन्दननाथ–४ की लाउरी रोकायाका अनुसार बजारमा खाने तेलको मूल्य बढेपछि स्थानीयले फेरि रैथाने तेलको महत्व बुझ्न थालेका छन्। बजारमा अहिले खाने तेल प्रति पाकेट १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ।

‘सबैले बाहिरको तेल खोज्छन्, आफ्नै गाउँको तेलको महत्त्व बुझेका छैनन्,‘ उनले भनिन्, ‘यो तेल खान पनि मिल्छ, स्वास्थ्यका लागि पनि राम्रो छ।‘

लाउरीले पहिलो वर्ष ३० लिटर र गत वर्ष ४० लिटर तेल निकालेकी थिइन्। यो वर्ष ४५ लिटर निकाल्ने लक्ष्य रहेको उनले बताइन्।

No description available.

उक्त वडाकी गौरी रोकायाले गत वर्ष ढटेलोको तेल बेचेर ३५ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिइन्। यो वर्ष अझ बढी आम्दानी गर्ने लक्ष्यसहित उनी संकलन कार्यमा व्यस्त छिन्।

यता चन्दननाथ–५ का आनन्द अधिकारीका अनुसार चार किलो दानाबाट एक लिटर तेल निस्कन्छ। जुम्लामा मात्रै ८० हजार लिटरभन्दा बढी तेल उत्पादन गर्न सकिने सम्भावना रहेको उनको दाबी छ।

‘व्यवस्थित संकलन र बजारीकरण गर्न सके जुम्लाले वर्षेनि करोडौँ कमाउन सक्छ,‘ उनले भने।

साविक कर्णाली अञ्चलअन्तर्गत जुम्ला, कालिकोट, हुम्ला, मुगु को माथिल्लो भाग तथा डोल्पा का केही क्षेत्रमा ढटेलो प्रशस्त पाइन्छ। एकदेखि दुई मिटरसम्म अग्लो हुने यो बिरुवामा भदौदेखि दाना लाग्न सुरु हुन्छ भने चैतदेखि असारसम्म पाकेर टिप्न मिल्छ।

No description available.

आयुर्वेद चिकित्सकहरूका अनुसार ढटेलोको तेल बाथरोग, जोर्नी दुखाइ तथा शरीरका विभिन्न पीडामा उपयोगी मानिन्छ। विभिन्न आयुर्वेदिक औषधिमा यसको प्रयोग भइरहे पनि यसको पर्याप्त अध्ययन भने हुन सकेको छैन।

यति ठूलो सम्भावना हुँदाहुँदै पनि ढटेलो अझै राज्यको प्राथमिकतामा पर्न सकेको छैन। किसानसँग आधुनिक प्रशोधन प्रविधि छैन। तेल निकाल्ने मिल नहुँदा धेरैले अझै परम्परागत तरिकाले हातैले तेल निकाल्ने गरेका छन्।

स्थानीयका अनुसार संरक्षण, अनुसन्धान र बजारीकरणमा ध्यान नदिए ढटेलो फेरि जंगलमै सीमित हुने खतरा छ। नयाँ पुस्ताले यसको नामसमेत बिर्सिन थालेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

कर्णालीका जंगलमा उम्रिएको यही काँडेदार वनस्पति अहिले गाउँको आत्मनिर्भरताको नयाँ आधार बन्ने संकेत देखिएको छ।