भाडा समायोजन नभए स्वघोषित दर लागू गर्ने यातायात व्यवसायीको चेतावनी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । यातायात व्यवसायीहरूले सरकारले भाडा समायोजन नगरे स्वतः नयाँ दर लागू गर्ने चेतावनी दिएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा भाडा वृद्धि सम्बन्धी प्रस्ताव कार्यान्वयनमा ढिलाइ भएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ। महासंघका अनुसार यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीका लागि करिब ११.३३ प्रतिशत भाडा वृद्धि सिफारिस गरिसकेको भए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट निर्णय हुन नसकेको उल्लेख गरिएको छ।

महासंघले इन्धन मूल्यवृद्धि लगायत कारणले सञ्चालन लागत बढ्दै जाँदा व्यवसायीहरू आर्थिक दबाबमा परेको जनाएको छ। लगातार घाटा व्यहोर्नु परिरहेको अवस्थालाई उल्लेख गर्दै या त सेवा सञ्चालन बन्द गर्नुपर्ने वा सिफारिसअनुसार भाडा स्वघोषणा गरी लागू गर्नुपर्ने अवस्था आएको दाबी गरिएको छ।

महासंघका महासचिव डेकनाथ गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले शीघ्र भाडा समायोजनको निर्णय गर्नुपर्ने माग राखिएको छ। अन्यथा व्यवसायीहरूले वैकल्पिक कदम चाल्न बाध्य हुने चेतावनी पनि दिइएको छ।यसैबीच, नेपाल आयल निगमले चैत २ गतेदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएपछि यातायात क्षेत्रले भाडा पुनरावलोकनको माग अघि सारेको हो।