मधेस प्रदेशमा एसइई तयारी तीव्र, ८७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

आगामी चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि मधेस प्रदेशमा तयारी तीव्र पारिएको छ । यस वर्ष प्रदेशभरबाट ८७ हजार ५९१ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्

शिक्षा विकास निर्देशनालय, मधेस प्रदेशका अनुसार परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन प्रदेशभर २९९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ती केन्द्रहरूमा एक हजार ३१६ विद्यालयका विद्यार्थी सहभागी हुनेछन् ।

परीक्षा सञ्चालनलाई प्रभावकारी बनाउन व्यापक तयारी गरिएको निर्देशनालयले जनाएको छ । २९९ जना केन्द्राध्यक्ष, ४३३ जना सहायक केन्द्राध्यक्ष, चार हजार २३५ जना निरीक्षक, ७३४ जना परीक्षा सहायक तथा एक हजार ६०३ जना कार्यालय सहयोगी परिचालन गरिनेछ । साथै, सुरक्षाको दृष्टिले चार हजार ४८५ जना सुरक्षाकर्मी खटाइने व्यवस्था गरिएको छ ।

जिल्लागत विवरणअनुसार धनुषा जिल्लाबाट सबैभन्दा बढी १३ हजार २६२ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् भने सबैभन्दा कम सप्तरी जिल्लाबाट ९ हजार २७६ विद्यार्थी सहभागी हुनेछन् । सप्तरीका १६२ विद्यालयका विद्यार्थीले परीक्षा दिनेछन् ।

त्यस्तै, सिरहाबाट ११ हजार ३८, महोत्तरीबाट ११ हजार ३५१, सर्लाहीबाट ११ हजार ३७१, रौतहटबाट ९ हजार ७७७, बाराबाट १० हजार ८१३ तथा पर्साबाट १० हजार ७०३ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

निर्देशनालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष सहभागी विद्यार्थीको संख्या घटेको छ । गत वर्ष ८८ हजार ८५८ विद्यार्थी सहभागी भएकोमा यस वर्ष एक हजार २६७ जना कम भएका छन् ।