टोखा नगरपालिका-३ कि गीता पाठकले मतपत्र हातमा लिएपछि एकाएक सम्झिइन्– गत २३ भदौमा भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा प्रदर्शन गर्न गएका विद्यार्थीहरूमाथि राज्यले गरेको दमन ।
उनको दिमागमा एकाएक घुम्यो २४ भदौमा भएको तोडफोड र आगजनीको घटना । यो निर्वाचन नियमित हुन्थ्यो भने पाँच-पाँच वर्षमा आउँथ्यो । नेताहरूले गरेका बाचा पूरा भए/नभएकोबारे रुजु हुन्थ्यो, नयाँ सपनाहरू देखिन्थ्यो, पूरा नभएका पुराना सपनाप्रति गुनासो हुन्थ्यो । तर यसपालीको निर्वाचन नियमित रहेन ।
मतपत्र हातमा लिएपछि नै उनको मन भारी भयो, अझै पनि पहिलेजस्तै घटना हुने परिस्थिति आए के गरौंला ? कति आमाका काख रित्तिएलान् कति परिवारका सपना टुट्लान् ! हातमा मतपत्र लिएपछि नै उनले सोचिन् यसपालि मेरो मत- परिवर्तनको पक्षमा । मतदान गरेर बाहिर निस्किएपछि अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘यो पाँच–पाँच वर्षमा आउने नियमित चुनाव मात्रै होइन,’ गीताले भनिन्, ‘हामीले राम्रै होला भनेर भोट हाल्दै आएका छौँ । तर अब भ्रष्टाचार हटोस्, नेपालीले रोजगारी पाओस् भन्ने चाहना छ।’