पूर्व शिक्षामन्त्री तथा म्याग्दीका प्रतिनिधि सभा सदस्य उम्मेदवार महाविर पुनले मत दिएनन् । एक महिनासम्म म्याग्दिका मतदातासँग मत मागेका उनले आफैले चाहिँ मत नदिएका हुन् ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक समेत रहेका उनले केही समयअघि मात्रै मतदाता नामावलीमा नाम लेखाएका थिए । उनले हालसम्म मतदान नै गरेका छैनन्।
मतदाता नामावली चितवनमा भएका कारण आफूले मत नदिएको पुनले बताए । ‘नागरिकता चितवनको छ । मतदाता नामावली पनि चितवनबाटै बनाइयो,’ उनले भने, ‘म्याग्दीमा अरु केही काम छैन । बसाई सराई यता ल्याइएन । अहिले पो समस्या पर्यो ।’ उनले शिक्षा मन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।
प्रत्यक्ष नपाएपनि समानुपातिकमा मत दिन पाउने भ्रमले आफू अल्झिएको पुनको भनाई छ ।
‘मलाई समानुपातिकमा चाहिँ म्याग्दीबाटै मत हाल्न पाइन्छ भनेका थिए, त्यसैले म ढुक्क भएर बसेको थिएँ,’ उनले थपे, ‘अघि ४ बजे भोट हाल्न जान्छु भनेर तयारी गर्दा पो थाहा भयो, समानुपातिकमा पनि सम्बन्धित मतदान केन्द्रमै जानुपर्ने रहेछ ।’ उनको नागरिकता राप्ती नगरपालिकामा छ ।
ठट्यौली पारामा उनले भने, ‘अब हेलिकप्टरमा जाने कुरा आएन, नत्र गाडीमा गएर आउजाउ गर्न त अहिले सम्भव छैन ।’ मतदान गर्न नपाएकोमा आफूलाई खल्लो लागेको उनले बताएका छन्।