रौतहट जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सामान्य विवादबाहेक शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदान सम्पन्न भएको छ। बिहीबार सम्पन्न निर्वाचनमा जिल्लाभर करिब ६० प्रतिशत मतदान भएको जानकारी दिइएको छ।
रौतहटका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन्। जिल्लाभरका १५२ वटा मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको थियो। निर्वाचनका क्रममा कुनै विवाद भएमा खबर प्राप्त भएको १० मिनेटभित्र संयुक्त सुरक्षा टोली घटनास्थलमा पुग्ने व्यवस्था भएको रौतहटका सिडियो दिनेश शागर भुषालले बताएका छन्।
जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार विगतका निर्वाचनको तुलनामा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न भएको छ।
यसैबीच, नेपाली कम्युनिष्ट पार्टीबाट रौतहट क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गरेका छन्। उनले आफ्नो आधिकारिक फेसबुकमार्फत पार्टी परित्यागको जानकारी दिएका हुन्।
साहले बिहीबार सम्पन्न निर्वाचनमा सरकारले भरपर्दो सुरक्षा व्यवस्था गर्न नसकेको आरोप लगाउँदै नेपाली कांग्रेसका कार्यकर्ताले क्षेत्र नम्बर २ का ८ वटा मतदान स्थलमा धाँधली गरेको दाबी गरेका छन्।
‘अर्काको नाममा मत खसाउने काम भएको छ, प्रहरी प्रशासन मूकदर्शक बनेर बसेको आरोप लगाएका छन ।
तर सिडियो दिनेश सागर भुसालले धाँधलीको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार केही स्थानमा सामान्य विवाद भए पनि गम्भीर अनियमितता कतै देखिएको छैन।
सिडियो भुसालका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेर ५० मिनेटसम्म करिब ६० प्रतिशत मत खसेको छ।
उनले रातोपाटी सङ कुरा गर्दै मतदान शान्तिपुर्ण तरिकाले सम्पन्न भयो अब हाम्रो ध्यान मत पेटिका ढुवानी तर्फ रहेको छ् । जिल्लामा शान्तिपूर्ण निर्वाचन गराउन नेपाली सेना ,नेपाल प्रहरी सशस्त्र प्रहरी गरी १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो।