अमेरिका र इरानबिच जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण तेल आपूर्ति मार्ग स्ट्रेट अफ होर्मुज बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएको छ। बिहीबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल २.०५ प्रतिशतले बढेर ८३.०७ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट २.६० प्रतिशतले वृद्धि भई ७६.६० डलर कायम भएको छ।
मध्यपूर्वबाट हुने इन्धन आपूर्ति अवरुद्ध हुँदा र उत्पादन सुविधाहरू खुम्चिँदै जाँदा विश्व अर्थतन्त्रमा ऊर्जा संकटको नयाँ त्रास उत्पन्न भएको छ। बुधबार श्रीलंका नजिकै अमेरिकी आक्रमणमा इरानी युद्धपोत ध्वस्त भएपछि युद्धको दायरा थप फैलिएको छ।
यता अमेरिकी सिनेटमा रिपब्लिकन सदस्यहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य अभियानको समर्थन गर्दै युद्ध रोक्ने प्रस्तावलाई विफल पारिदिएका छन्। यस राजनीतिक विकासक्रमले युद्ध तत्काल नरोकिने संकेत गरेपछि ऊर्जा बजार थप त्रसित बनेको हो।
ओपेकको दोस्रो ठूलो तेल उत्पादक राष्ट्र इराकले निर्यात मार्ग र भण्डारणको अभावमा दैनिक १५ लाख ब्यारेल तेल उत्पादन कटौती गरेको छ भने विश्वकै ठूलो एलएनजी उत्पादक कतारले ग्यास निर्यातमा फोर्स मेजर घोषणा गर्दै उत्पादन सामान्य हुन कम्तीमा एक महिना लाग्ने जनाएको छ।
विश्वको कुल ऊर्जा खपतको करिब पाँचौँ हिस्सा ओगट्ने स्ट्रेट अफ होर्मुज पाँच दिनदेखि पूर्ण रूपमा ठप्प छ। जेपी मोर्गनका अनुसार करिब ३२९ वटा तेल ट्याङ्करहरू अहिले खाडी क्षेत्रमा फसेका छन्।
बेलायती समुद्री व्यापार निकायले कुवेत नजिकै एउटा ट्याङ्कर नजिक ठूलो विष्फोट भएको रिपोर्ट गरेको छ, जसले समुद्री मार्गको जोखिमलाई थप उजागर गरेको छ। इरानले अहिलेसम्म मुख्य ऊर्जा पूर्वाधारलाई प्रत्यक्ष निशाना नबनाए पनि ढुवानीमा सिर्जना गरेको अवरोधले विश्वव्यापी आपूर्ति प्रणालीलाई नै छिन्नभिन्न बनाइदिएको छ।
विज्ञहरूका अनुसार तेल क्षेत्रहरू पुनः सञ्चालन गर्न प्राविधिक रूपमा कठिन नभए पनि अहिलेको मुख्य चुनौती सुरक्षा र ढुवानी व्यवस्थापन हो। साउदी अरब, संयुक्त अरब इमिरेट्स र कुवेत जस्ता देशहरूको भण्डारण क्षमता र बढ्दो इन्धन मूल्यले यस सैन्य अभियानको भविष्य र विश्व बजारको स्थिरता तय गर्ने देखिन्छ।
खाडी राष्ट्रहरूले आफ्नो क्षमता पुनः प्राप्ति गर्न दुई देखि तीन हप्ता लाग्न सक्ने भए पनि युद्ध लम्बिँदै जाँदा विश्वभर इन्धनको हाहाकार मच्चिने जोखिम बढेको छ।