बालेन शाहको नेतृत्वमा झापाका चार क्षेत्रमा रास्वपाको ‘रोड शो’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै आज झापामा ‘रोड शो’ कार्यक्रम आयोजना गर्दैछ। हिजो काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उत्साहजनक सहभागितासहित कार्यक्रम सम्पन्न गरेको रास्वपाले आज उक्त अभियानलाई पूर्वी जिल्ला झापामा केन्द्रित गरेको हो।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा झापाका ४ वटा निर्वाचन क्षेत्र १, २, ३ र ४ मा रोड सो गरिने भएको हो ।

बालेन शाह आज बिहान ९ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरी कार्यक्रमको सुरुआतका लागि काँकडभिट्टा प्रस्थान गर्ने तालिका रहेको छ। रोड शो काँकडभिट्टाबाट सुरु भई बाहुनडाँगी, बुद्धशान्ति, जयपुर, शनिश्चरे बजार, बिर्तामोड, बिर्ताबजार, गोलधाप, बाह्रदशी, पृथ्वीनगर, शरणामती, झापा गाउँपालिका, सुरुंगा बजार हुँदै दमकसम्म पुग्नेछ। कार्यक्रमका क्रममा नेताहरूले स्थानीय मतदातासँग भेटघाट, सम्बोधन तथा चुनावी प्रतिबद्धता सार्वजनिक गर्ने जनाइएको छ।

रास्वपाले यस अभियानमार्फत झापामा पार्टीको जनाधार विस्तार गर्ने र आगामी निर्वाचनमा सशक्त उपस्थिति जनाउने लक्ष्य लिएको बताइएको छ। स्थानीय स्तरमा कार्यक्रमप्रति उत्साह देखिएको र सुरक्षा व्यवस्थासमेत कडा पारिएको जिल्ला प्रशासन स्रोतले जनाएको छ।