आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विदेशीलाई नागरिकता दिने विषय घोषणापत्रमा उल्लेख गर्ने दलहरूले तत्काल माफी माग्नुपर्ने बताएका छन्।
शनिबार सिम्रौनगढमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साहले २१ फागुनको निर्वाचनलाई लक्षित गरी सार्वजनिक गरिएका घोषणापत्रमा विदेशीलाई नागरिकता दिने प्रावधान राखिएको आरोप लगाए। उनले यस्तो प्रावधान राष्ट्रघाती कदम भएको दाबी गर्दै कडा विरोध जनाए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो घोषणापत्रमा गैरआवासीय नेपालीको ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनालाई कदर गर्दै केही विशिष्ट अपवादबाहेक सिद्धान्ततः दोहोरो नागरिकताको पक्षमा उभिने उल्लेख गरेको छ। साथै सम्पत्तिको अधिकारमा रहेका प्रशासनिक झन्झट अन्त्य गर्ने प्रतिबद्धता जनाइएको छ।
त्यस्तै नेपाली कांग्रेस ले पनि ‘नेपाली डायस्पोरा : अटुट सम्बन्ध, विस्तारित नेपाल’ शीर्षकअन्तर्गत ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनालाई आत्मसात गर्दै नागरिकताको निरन्तरता, सम्पत्ति र मतदान अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।
साहले यस्तो विषयमा गम्भीर बहस आवश्यक रहेको उल्लेख गर्दै ‘एक पटकको नेपाली सधैंका लागि नेपाली हुन्छ भने एक पटकको अमेरिकी सधैंका लागि अमेरिकी हुन्छ कि हुँदैन?’ भन्ने प्रश्न उठाए।
उनले नेपालको भूमि आदिवासी जनजातिको भएको उल्लेख गर्दै भ्रम फैलाउने काम बन्द गर्न आग्रह गरे। साथै अवैध रूपमा नेपाली सम्पत्ति विदेश लैजाने प्रवृत्ति रोक्नुपर्ने बताए।
कर प्रणाली सुधार, भ्रष्टाचार अन्त्य र अर्थतन्त्र सुदृढीकरण आफ्नो प्राथमिकता रहेको उनले बताए। नेपालमा तीन तहको संघीय संरचना र ७६१ वटा सरकार रहेको भन्दै संघीयताको मर्म धुमिल भएको टिप्पणी गरे। दलतन्त्रको अन्त्य गरी जनतालाई देशको वास्तविक मालिक बनाउने उद्घोष पनि उनले गरे।
साहले मौलापुरको विकास मोडेल देशव्यापी रूपमा लागू गर्ने घोषणा गर्दै पानी, विद्युत्, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने दाबी गरे। आफू प्रधानमन्त्री बने नेपालमा विद्युत्, सञ्चार सेवा (मोबाइल र डाटा) तथा खानेपानी निःशुल्क उपलब्ध गराउने उनले दाबी गरे ।