नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को निर्वाचन नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने ठुलो जनमत सङ्ग्रहजस्तो भएको बताएका छन् ।
शनिबार कपिलवस्तु कृष्णनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर मुलुकको रक्षा गर्ने समय आएको भन्दै आगामी निर्वाचन जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने ठुलो जनमत सङ्ग्रहजस्तो भएको बताएका हुन् ।
उनले निर्वाचनमा राष्ट्रको एकतालाई प्रवर्द्धन गर्न चाहने शक्ति र राष्ट्रलाई सङ्कटमा धकेल्ने प्रवृत्ति समेत अहिले चुनावी प्रतिस्पर्धामा रहेको धारणा राखे । राष्ट्र बचाउने र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिने शक्तिलाई मतदान गर्ने या अरूलाई भन्ने एउटा अहम् प्रश्न मतदाताको अगाडि रहेको उनले बताए ।
प्रचण्डले मुलुकमा निर्वाचन हुने अवस्था सिर्जना हुनु नेकपाका लागि निकै गर्वको विषय भएको भन्दै पार्टीको पक्षमा राम्रै नजिता आउने दाबी गरे ।