
काठमाडाैं । निर्वाचन आयोगले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशैभरी मौसम सफा रहने बताएको छ ।
आयाेगले जल तथा मौसम विज्ञान विभागले जानकारी गराए अनुसार साेही दिन देशैभरी मौसम सफा रहने जनाएकाे हाे । निर्वाचनको दिन मौसमले कस्तो प्रभाव पार्छ भन्ने आम चासोकाबीच आयोगले विभागसँग निरन्तर समन्वय गरिरहेको शुक्रबार आयोगमा आयोजित पत्रकार सम्मेलनका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयाे । विभागका महानिर्देशकसँगको छलफलपछि आयोगले मतदानको दिन फागुन २१ गते देशभर मौसम सफा रहने बताएको छ ।
विगत ३० वर्षको तथ्यांकमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले अहिले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गर्न थालेको छ । हाल देशका विभिन्न भागमा विशेषगरी सङ्खुवासभा लगायतका हिमाली जिल्लाहरूमा छिटपुट हिमपात भइरहे पनि यसले मतदान प्रक्रियालाई अवरुद्ध नगर्ने आयोगको निष्कर्ष छ । संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी) मार्फत आयोगले दिनभरको मौसम अपडेट लिइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।
जमेको हिउँमाथि थपिएको नयाँ हिउँले मतदान केन्द्रसम्म पुग्न मतदातालाई खासै समस्या नपार्ने उहाँले बताउनुभएकाे छ। आयोगले मौसमको अवस्थालाई नजिकबाट नियालिरहेको र अचानक मौसममा कुनै ठूलो परिवर्तन आए थप अपडेट लिने र आवश्यक प्रवन्ध मिलाउने तयारी गरेको जनाएकाे हाे ।