निर्वाचनको सरगर्मी बढेसँगै सिंहदरबार सुनसान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडाैं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार यतिबेला सुनसान बनेकाे छ ।

प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गएपछि मन्त्री, सांसद र राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन प्रयोजनका लागि आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा फर्किएसँगै सिंहदरबारको चहलपहल घटेको हो । निर्वाचन आउन अब मात्र ५ दिन बाँकी छ । आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नेताहरू यतिबेला घरदैलो अभियान र चुनावी सभाहरूमा व्यस्त छन् । काठमाडौंका ठूला होटलदेखि चिया पसलसम्म चुनावी चर्चा चुलिएको भएपनि नीति निर्माणको थलो सिंहदरबार भने कर्मचारीहरूको नियमित उपस्थितिमा मात्र सीमित भएको हाे ।

सिंहदरबारभित्रका विभिन्न मन्त्रालयहरूमा सर्वसाधारणको उपस्थिति नगन्य छ । मन्त्रीहरू पनि चुनावी सुरक्षा लगायतका प्रबन्ध र व्यवस्थापनको सुनिश्चितताका लागि विभिन्न जिल्लामा पुगेका हुन् । जसले मन्त्रालयका दैनिक कार्यसम्पादनमा समेत केही सुस्तता देखिएको छ । गाउँ–गाउँमा चुनावी रौनक बढिरहँदा सिंहदरबारको यो मौनताले निर्वाचनको संवेदनशीलता र शक्ति विकेन्द्रीकरणको अभ्यासलाई पनि संकेत गरेको हाे ।

अबको केही दिनमा हुने मतदानले सिंहदरबारमा नयाँ अनुहारहरू भित्र्याउनेछ वा पुरानाकै निरन्तरता हुने भएकाे छ । त्यो भने आम मतदाताको हातमा रहेकाे छ ।