ग्यालेक्सी एस२६ अल्ट्रा सार्वजनिक गर्दै सामसङ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्स बुधबार हुन लागेको आफ्नो वार्षिक ग्यालेक्सी अनप्याक्ड समारोहमा नयाँ फ्ल्यागशिप स्मार्टफोन सिरिज सार्वजनिक गर्ने तयारीमा छ ।

कार्यक्रम अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली समयअनुसार राति सुरु हुनेछ । कम्पनीले यसपटक सामसङ ग्यालेक्सी एस२६ अल्ट्रासहित ग्यालेक्सी एस२६ र एस२६ प्लस पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रम सामसङको आधिकारिक वेबसाइट र युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । सामान्यतया एक घण्टा जति चल्ने अनप्याक्ड कार्यक्रममा अन्त्यतिर ‘सप्राइज’ टिजर पनि देखाइन्छ ।

विभिन्न रिपोर्टहरूका अनुसार कम्पनीले यस वर्ष पनि आफ्नो परम्परागत तीन मोडल रणनीति कायम राख्नेछ  र ग्यालेक्सी एस२६, एस२६ प्लस र एस२६ अल्ट्रा सार्वजनिक गर्नेछ । यसअघि ‘प्रो’ ब्रान्ड ल्याउने र प्लस मोडल हटाउने हल्ला चले पनि कोरियाली मिडियाले ती योजना त्यागिएको जनाएको छ । सम्भावित एस२६ एज मोडल भने अनिश्चित अवस्थामा रहेको बताइन्छ ।

डिजाइनमा परिवर्तन

लिकहरू अनुसार ग्यालेक्सी एस२६ अल्ट्राको डिजाइन अघिल्लो पुस्तासँग मिल्दोजुल्दो रहनेछ । केही स्रोतले क्यामेरा बम्प सामसङ ग्यालेक्सी जेड फोल्ड७ जस्तै हुन सक्ने बताएका छन् भने अन्य रिपोर्टले सपाट डिजाइन नै कायम रहने दाबी गरेका छन् । यसले आधिकारिक घोषणा नआउँदासम्म डिजाइनबारे अन्योल कायम छ । रङ विकल्पतर्फ कालो, सेतो, शिल्भर श्याडो, स्काई ब्लु, कोबाल्ट भेल्भेट र पिङ्क गोल्ड उपलब्ध हुने सम्भावना छ, जुन कम्पनीको प्रिमियम लाइनअपसँग मेल खान्छ ।

शक्तिशाली प्रोसेसर र धेरै क्षमताको र्‍याम

ग्यालेक्सी एस२६ शृंखलामा क्वालकमकोे नयाँ स्न्यापड्र्यागन८ एलाइट जेन५ चिप प्रयोग हुने व्यापक चर्चा छ । केही क्षेत्रमा भने सामसङकै एक्जिनोस २६०० चिप प्रयोग हुन सक्ने रिपोर्ट पनि आएका छन् । सबै मोडलमा १६जीबी र्‍याम उपलब्ध हुने हल्लाले विशेष चासो बढाएको छ । यदि  यो साँच्चै भयो भने हालका वर्षहरूमा ग्यालेक्सी फोनमा देखिएको सबैभन्दा उच्च र्‍याम कन्फिगरेसन हुनेछ । स्टोरेज विकल्प भने प्रायः यथावत रहने अपेक्षा गरिएको छ– अर्थात् साधारण मोडलमा १२८  जीबी र अल्ट्रा मोडलमा २५६ जीबी बेस भेरियन्ट ।

 ब्याट्रीमा ठूलो सुधारको सम्भावना

यस वर्षको सबैभन्दा ठूलो अपग्रेड ब्याट्रीमा हुन सक्ने अनुमान छ । सामसङले ‘स्ट्याक्ड ब्याट्री’ प्रविधि प्रयोग गरेर क्षमतामा वृद्धि गर्ने तयारी गरेको बताइन्छ ।

ग्यालेक्सी ए२६ अल्ट्रामा करिब ५,५००एमएएच

बेस ग्यालेक्सी एस२६ मा करिब ४,३०० एमएएच

यसले आकार नबढाई ब्याट्री लाइफ सुधार गर्ने लक्ष्य गरिएको छ । केही रिपोर्टले ठूलो ब्याट्री अटाउन सामसङले क्यामेरा सेन्सर घटाउने परीक्षणसमेत गरेको दाबी गरेका छन् । तर अन्तिम डिजाइन अझै पुष्टि भएको छैन ।

  एआई र गोपनीयतासम्बन्धी नयाँ फिचर

सामसङले नयाँ ‘प्राइभेसी डिस्प्ले’ फिचरको टिजर दिइसकेको छ, जसले हार्डवेयर र सफ्टवेयर संयोजनमार्फत स्क्रिन सुरक्षा बलियो बनाउने बताइएको छ । साथै, उन्नत ग्यालेक्सी एआई फिचरहरू पनि केन्द्रमा रहने अपेक्षा गरिएको छ । कम्पनीले हालै पर्पेल्क्सिटी एआईको ‘हे प्लेक्स’ सहायकलाई आफ्ना ग्यालेक्सी उपकरणमा एकीकृत गर्ने घोषणा गरेको थियो । यसले सामसङको आफ्नै बिक्सबाई र गूगल जेमिनाईसँगै काम गर्नेछ ।

सामसङको पुरानो ढाँचा अनुसार कार्यक्रम सकिएलगत्तै वा भोलिपल्टबाट प्रि–अर्डर खुल्न सक्छ । मूल्यबारे आधिकारिक जानकारी आउन बाँकी भए पनि अल्ट्रा मोडल प्रिमियम सेग्मेन्टमै रहने अनुमान गरिएको छ । आजको ग्यालेक्सी अनप्याक्डपछि ग्यालेक्सी एस२६ शृंखलाका वास्तविक स्पेसिफिकेसन, मूल्य र उपलब्धताबारे स्पष्ट तस्वीर आउनेछ । स्मार्टफोन बजारमा प्रतिस्पर्धा चर्किरहेका बेला सामसङको नयाँ फ्ल्यागशिपले कस्तो प्रभाव पार्छ भन्ने चाहिँ हेर्न बाँकी नै छ ।