काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सस्मित पोखरेलले आफ्नो सम्भावित पाँच वर्षे कार्यकालमा नियमित तथा संस्थागत सामुदायिक सुनुवाइ सञ्चालन गर्ने कार्ययोजना सार्वजनिक गरेका छन्।
पोखरेलले प्रत्येक महिना एक वडा केन्द्रित गर्दै सार्वजनिक सुनुवाइ आयोजना गर्ने घोषणा गरेका छन्। यसअनुसार पाँच वर्षमा कुल ६० वटा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। क्षेत्र नं. ५ अन्तर्गतका १५ वटै वडामा कम्तीमा चार–चार पटक प्रत्यक्ष सुनुवाइ सुनिश्चित गर्ने योजना रहेको उनले बताएका छन्।
उनका अनुसार सामुदायिक सुनुवाइ कार्यक्रम केवल औपचारिक भेटघाट नभई जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद र उत्तरदायित्व स्थापित गर्ने संरचित अभ्यास हुनेछ। “निर्वाचनपछि जनप्रतिनिधि हराउने संस्कार अन्त्य हुनुपर्छ। जनतासँग नियमित रूपमा भेट्ने, प्रगति सार्वजनिक गर्ने र प्रश्नको जवाफ दिने संस्कृति विकास गर्नुपर्छ,” पोखरेलले भने ।
कार्यक्रमअन्तर्गत सम्बन्धित वडामै खुला मञ्चमार्फत सुनुवाइ आयोजना गरिनेछ। स्थानीय बासिन्दाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासन लगायतका विषयमा प्रत्यक्ष प्रश्न राख्न सक्ने व्यवस्था गरिने जनाइएको छ। आवश्यकताअनुसार सम्बन्धित निकायका प्रतिनिधिको सहभागिता सुनिश्चित गरी समस्याको समाधान प्रक्रियालाई अघि बढाइने उनले उल्लेख गरेका छन्।
पोखरेलले उक्त योजनालाई चुनावी नारामात्र नभई कार्यकालभरि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।