घन्टा र मिनेटमा पनि कुर्न सक्ने अवस्थामा छ, समय। अनि चर्चामा छ निर्वाचन क्षेत्र झापा–५।
वरिपरि, छिमेकी जिल्ला मात्र होइन निर्वाचन क्षेत्रमा पनि गुञ्जिरहेको छ, घन्टी। झापा–५ मा पनि भनिरहेका छन् जनता– घन्टी टिनिनिनि..।
यहि क्षेत्रमा जेनजी विद्रोहले अपदस्त गरेका तत्कालिन प्रधानमन्त्री, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन्। उनीबाहेक अझै २३ जना पनि उम्मेदवार छन्।
चर चर्चामा छ नाम ओली र बालेन शाहको। पछिपछि आउँदै गरेको नाममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रञ्जित तामाङ पनि पर्छन्।
तर रोचक के छ भने यसअघि ‘सोमालियाको बाघ’ बनिरहेका ओलीका निम्ति निक्कै कठिन बनिरहेको छ, समय। समयभन्दा पनि उनलाई कठिन बन्न सक्छ पराजय। पराजयको भयका प्रतिक्रिया अहंकारका स्वरमा आइरहेका छन्, सुनाइरहेका छन्।
स्कुलकालमा एउटा चुट्किला खुबै सुनिन्थ्यो, सुनाइन्थ्यो।
एक पटक विश्वका बिरालाहरूको दौड प्रतियोगित भएछ। विश्वका सबै शक्तिशाली देश अमेरिका, चीन, जापान, रुसदेखि नेपालसम्मका बिरालाको दौड प्रतियोगिता भयो।
यो प्रतियोगितामा अचम्मको नतिजा आयो। बिरालोको विश्व दौड प्रतियोगितामा सोमालिया प्रथम भयो। निक्कै तालिम दिएर खतरा बनाएर पठाएका बिरालाहरुको पराजय भएपछि शक्तिशाली देश चकित परे।
ति देशका बिरालाहरूलाई सोमालियाले कसरी जित्यो भन्ने उत्सुकता भएछ। कानेखुसी गर्दै बिजयी बिरालोलाई नै सोध्ने निधोमा पुगेछन्।
अनि उनीहरुले सामूहिक रुपमा सोधे– तिमी सोमालियाको बिरालो। गरिब, खान पनि मुस्किल हुने देशको बिरालो थियौ। हामी हट्टाकट्टा र लगानी गरिएका बिरालाले हारेका छौं। खासमा तिमीले कसरी जित्यौ?
अनि बिजेता बिरालोले उत्तर दियो– मैले जित्ने निश्चित नै थियो नि। किनभने म हेर्दा उस्तै देखिए पनि सोमालियाको बाघ हुँ। विश्वले बिरालो जस्तै ठान्छ। आयोजकसँग बिरालो नै हो भन्ने प्रमाणित गराएर भाग लिएको थिएँ।
सबै देशका बिरालोहरु ‘ट्वाँ’।
चुनावी राजनीतिमा ओली तिनै बाघ जस्ता थिए हालसम्म। यसअघिका चुनावमा विभिन्न दलका नेतासँग साँठगाँठ गरी कमजोर उम्मेदवार उठाउन लगाउने र आफू जित निकाल्न बानी परेका थिए।
०७४ मा त माओवादीसँगको गठबन्धन नै थियो। ०७९ मा प्रभाव रहेको राप्रपाका राजेन्द्र लिङ्देनसँग हात मिलाएर जित निकाले। यस पटक पनि उनलाई अन्य दलले बलिया उम्मेदवार लगेर चुनौती दिएनन् किनभने उनको शीर्ष तहमा सेटिङ छ। अझै पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसँग शून्य समयमा सेटिङ मिलाउने वार्ता परोक्ष रुपमा चिलरहेको छ।
तर यस पटक उनी सोमालियाको बाघ बन्न नपाउने निश्चित छ। किनभने सबै कमजोर भए पनि जेनजी विद्रोहले नेताका रुपमा स्थापित गर्न खोजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता झापा–५ को मैदानमा चट्टानसरी उभिएका छन्।
विद्रोहको आशाको रापतापसहित जनता अनुमोदन गर्नका लागि आतुर छन्। देशभरी प्रभाव छ। ओली अहिले चुनावी दौडको अग्नीपरिक्षामा छन्। खुम्चिएका छन्। मलिन छ अनुहार। उपाय खोजिरहेका छन्। उदण्डताको बाटो समेत समात्न सक्ने संकेत गरिरहेका छन्।
मिडियाहरुलाई तारान्तार अन्तरवार्ता लिन बोलाएर अझै हुँकार छाडिरहेका छन्। यो दौडमा सबैलाई बिराला देख्ने कमजोर बाघको हुँकार गरिरहेका छन्। यो हुँकारमा उनको पराजय हुने कमजोर मनस्थिति हल्लिएको प्रतीत भैरहेकै छ।
हर्क साम्पाङ शैलीमा ओली भनिरहेका छन्,‘महिलाहरुको ठूलो मत मलाई नै आउँछ। मै जित्छु चुनाव। प्रतिस्पर्धी कोही छैन। २३ जना अरु पनि उठेका छन् तर जित्ने मै हो।’