८ वर्षपछि बल्ल अघि बढ्यो ‘कर्णाली हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’ निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 विगत ८ वर्षअघिदेखि बनाउने भनिएको ‘कर्णाली हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’ निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया बल्ल अघि बढेको छ । युवा तथा खेलकुद मन्त्रालयले निर्माणका लागि आवश्यक जग्गा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नाममा प्राप्त गर्न सिफारिस गरेको हो ।

फागुन ११ गते मन्त्रालयले राखेपलाई जग्गा प्राप्त गर्न सिफारिस गरेको हो । ‘कर्णाली हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’ जुम्लाको पातारासी गाउँपालिका—३, लोटचौरमा निर्माण गर्ने भनिएको छ ।

पातारासी गाउँपालिकाको कार्यपालिकाले गत मङ्सिर १६ गते नै ट्रेनिङ सेन्टर’ लागि निःशुल्क जग्गा उपलब्ध गराउने मन्जुरी दिएको थियो । ‘सोही आधारमा जिल्ला खेलकुद विकास समिति जुम्लाले जग्गा प्राप्तिको सिफारिसका लागि मन्त्रालयमा माग गरेको थियो,’सिफारिस पत्रमा भनिएको छ ।

लामो समयदेखि फाइलहरु राखेप र मन्त्रालयहरमा अड्किएका थिए । खेलकुद सम्बद्ध प्रकाश खड्का लगायतका युवाहरुको जोडबलले जग्गा प्राप्तिको काम अघि बढेको हो ।

ट्रेनिङ सेन्टरका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।

पत्रमा कुल ०६१२० वर्गमिटर जग्गा प्राप्तिका लागि सिफारिस गरिएको उल्लेख छ, जसमा कम्मर बोहोराले ०३०२०, गोरबहादुर बोहोराले ०५८५० र लाउरो बोहोराले ०१२५० वर्गमिटर जमिन उपलब्ध गराएका छन् ।

ट्रेनिङ सेन्टर निर्माणको चर्चा ०७४ सालदेखिनै सुरु भएको हो । ०७४ पुस ३ गते युवा तथा खेलकुद मन्त्रालयका तत्कालीन सचिव महेश दाहालले पहिलो पटक मैदान निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमन गरेका थिए ।

यसपछि विद्यालयको जग्गा र स्थानीय बासीको जग्गामा रंगशालाको निर्माण कार्य थालिएको थियो । यद्यपि जग्गा पास हुन सकेको थिएन ।

हाइअल्टिच्युट मैदानमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केट बल, एथलेटिक्सलगायत दुई दर्जन बढीका खेल मैदान निर्माण गरिने डिपिआरमा उल्लेख गरिएको छ । त्यसैगरी स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, सुरक्षागार्ड, पाहुनाघर, टिकट काउन्टरसमेत निर्माण गरिने भनिएको छ ।

यो योजनामा हरेक वर्ष करोडौँ रकम विनियोजन हुने गरेको छ । यद्यपि अहिलेसम्म आयोजनाको काम अघि बढेको अवस्था छैन ।

4444