एमालेले गरेको विकासमा उभिएर हाम्रो विरोध भइरहेछ : ओली

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

एमाले अध्यक्ष केपी ओलीले आफूलाई हटाउँदा देश ड्राइभरविनाको गाडीजस्तो हुने बताएका छन् । झापाको दमकमा नेसनल भोलेन्टियर्स फोर्स कोशीको घोषणा कार्यक्रममा सोमबार उनले आफू सरकारमा आउन साथ देश कुद्ने दाबी गरे । ‘मलाई सरकारबाट हटाउँदा ड्राइभरविनाको गाडीजस्तो हुन्छ देश,’ उनले भने, ‘म सरकारमा आउनेबित्तिकै देश कुद्छ । म सरकारबाट हटेपछि जहाँको त्यहीँ हुन्छ ।’

ओलीले देश विकास गर्ने पार्टी एमाले भएको बताए । उनले देश विकासको जिम्मा आफू र एमालेलाई दिन पनि आह्वान गरे । देशमा धेरै विकास भएको र केही बाँकी रहेको बताउँदै ओलीले बाँकी रहेको काम एमालेले पूरा गर्ने बताए । अहिले एमालेले गरेको विकासमा उभिएर एमालेको विरोध भइरहेको ओलीको दाबी छ । ‘यही दमकले हेरोस् रतुवा र मावामा एउटा मात्रै पुल थियो । कालोपत्रे हेर्न राजमार्ग आउनुपथ्र्यो । घरअगाडि कालोपत्रे छ, बिजुलीका खम्बा छ । घरघरमा बिजुली छ,’ उनले भने, ‘कालोपत्रे सडकको छेउमा उभिएर अहिलेसम्म के भयो भनेको सुनिन्छ ।’ झापा ५ का उम्मेदवार ओलीले एमालेलाई प्रश्न उठाउने ठाउँ नभएको बताए ।

‘एमालेले गर्भमा हुँदादेखि अन्तिम संस्कारसम्म कुन मानवजातिका लागि के काम गरेको छैन ? किसान, मजदुर, प्रहरीका लागि, व्यापारी उद्यमीका लागि, निर्माण व्यवसायी, यातायात व्यवसायी, बालबालिकाका लागि, युवाका लागि, जागिर खाने युवाका लागि, पढ्ने उमेरका बालबालिका लागि, वृद्धवृद्धाका लागि, अनाथका लागि कसका लागि काम गरेको छैन ?,’ ओलीले भने, ‘तैपनि एमालेका बारेमा प्रश्न उठाउनु भनेको कित बुझ्दै नबुझेकाले उठाउँ छ कि त अरू नै कुरामा प्रभावित भएर उठाउँछ । एमालेलाई प्रश्न उठाउने ठाउँ छैन ।’ उनले एमाले शान्तिपूर्ण, निष्पक्ष, धाँधलीरहित भयरहित चुनावको पक्षमा रहेको बताए ।