अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अस्पताल जहाज पठाउने प्रस्तावलाई ग्रिनल्याण्डले अस्वीकार गरेको छ । ‘धन्यवाद, तर आवश्यक छैन’ भन्दै ग्रिनल्याण्ड ट्रम्पको उक्त प्रस्ताव अस्वीकार गरेको हो । ट्रम्पले यसअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै डेनमार्कको स्वायत्त भूभाग ग्रिनल्याण्डलाई नियन्त्रणमा लिन चाहेको बारम्बार बताएका थिए ।
प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले फेसबुकमार्फत प्रतिक्रिया दिँदै अमेरिकी प्रस्ताव नोट गरिएको बताएका छन् । उनले ग्रिनल्याण्डमा नागरिकका लागि निःशुल्क सार्वजनिक स्वास्थ्य सेवा उपलब्ध रहेको उल्लेख गर्दै यस्तो जहाज आवश्यक नभएको स्पष्ट पारे । ‘हामी संवाद र सहकार्यका लागि खुला छौँ, तर सामाजिक सञ्जालमा अनियमित अभिव्यक्ति दिनुभन्दा पहिले हामीसँग कुरा गर्नुस्,’ पोस्टमा उनले लेखेका छन् ।
डेनमार्कका रक्षा मन्त्री ट्रोएल्स लुन्ड पौल्सेनले पनि ग्रिनल्याण्डका बासिन्दाले आवश्यक स्वास्थ्य सेवा पाइरहेको बताएका छन् । उनका अनुसार जटिल उपचार आवश्यक परेमा बिरामीलाई डेनमार्क लगेर उपचार गरिन्छ । यसअघि ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा एआईबाट बनाइएको अमेरिकी नौसैनिक जहाज यूएसएनएस मर्सीको तस्बिर सार्वजनिक गर्दै ग्रिनल्याण्डतर्फ पठाउने घोषणा गरेका थिए ।
त्यहाँका बिरामीहरू उपेक्षित रहेको दाबी उनले गरेका थिए । हालै ट्रम्पले ग्रिनल्याण्डमाथि अमेरिकी नियन्त्रणको इच्छा व्यक्त गरेपछि अमेरिका–डेनमार्क सम्बन्धमा तनाव बढेको छ । तर ग्रिनल्याण्ड र युरोपेली पक्षहरूले टापुको सार्वभौमिकता कायम रहने बारम्बार दोहोर्याएका छन् ।