क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शुक्रबार बेइजिङमा व्यापार, पर्यटनदेखि भिसा नियमसम्बन्धमा ऐतिहासिक सम्झौताका लागि सहमति भएको छ ।
क्यानाडाका प्रधानमन्त्री कार्नीले चीनसँगको ‘नयाँ रणनीतिक साझेदारी’ अन्तर्गत ‘ऐतिहासिक सम्झौता’ भएको भन्दै यसका लागि चिनियाँ अधिकारीको प्रशंसा गरेका छन् । सम्झौताले वर्षौँदेखिको कुटनीतिक विवाद, एकअर्काका नागरिकहरूको प्रतिशोधात्मक गिरफ्तारी र विवाद अन्त्य गर्नेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाका उत्पादनहरूमा आक्रामक रूपमा करवृद्धि गरेपछि कार्नीले आफ्नो देशको प्रमुख आर्थिक साझेदार र परम्परागत सहयोगी अमेरिकामाथिको निर्भरता कम गर्न खोजेका छन्।
“क्यानडा र चीनबीच व्यापार अवरोध हटाउन र करवृद्धि घटाउने प्रारम्भिक तर ऐतिहासिक व्यापार सम्झौता भएको छ,” राष्ट्रपति सीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा कार्नीले बताए ।
सम्झौता अन्तर्गत क्यानोलाको बीउको लागि क्यानाडाको सबैभन्दा ठूलो बजार चीनमा मार्च १ सम्ममा क्यानोला उत्पादनहरूमा कर घटाएर एक देखि १५ प्रतिशतसम्ममा झार्ने अपेक्षा गरिएको छ,। यो हाल ८४ प्रतिशतको हाराहारीमा रहेको छ ।
सम्झौता अनुसार चीनले क्यानडेली आगन्तुकहरूलाई बिना भिसा प्रवेश गर्न अनुमति दिनेछ। यसको बदलामा, क्यानाडाले ६.१ प्रतिशतको नयाँ प्राथमिकताको करमा ४९ हजार चिनियाँ विद्युतीय सवारी साधन (इभी) आयात गर्नेछ।
“यो भर्खरको व्यापार तनावभन्दा पहिले अवस्थित स्तरमा फर्कनु हो,” कार्नीले इभी सम्झौताको बारेमा भने । ‘ग्रेट हल अफ द पिपुल’मा प्रधानमन्त्री कार्नीलाई स्वागत गर्दै चिनियाँ राष्ट्रपति सीलेभने, “गत अक्टोबरमा एपेक शिखर सम्मेलनको अवसरमा दुई देशका नेताबीचको भेटवार्तापछि चीन र क्यानडाको सम्बन्ध नयाँ महत्वपूर्ण मोडमा पुगेको थियो।
राष्ट्रपति सीले क्यानडेली नेतासँग भने, “गत वर्षको हाम्रो बैठकले चीन–क्यानडा सम्बन्धलाई सुधारतर्फ मोड्ने नयाँ अध्याय सुरु गरेको छ ।”
उनले भने, “चीन–क्यानडा सम्बन्धको स्वस्थ र स्थिर विकासले हाम्रा दुई देशको साझा हितलाई पूरा गरेको छ।” सहयोग पुनस्र्थापना गर्न पछिल्ला केही महिनादेखि भएको छलफलबाट आफू खुशी रहेको उनको भनाइ थियो ।
सम्बन्ध सही दिशामा
सन् २०१८ मा अमेरिकी पक्राउ पूर्जी आदेशपछि क्यानडाले हुवावेका संस्थापककी छोरीलाई पक्राउ गरेपछि र जासुसीको आरोपमा चीनले दुई क्यानेडियालीलाई पक्राउ गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।
दुई देशले त्यसपछिका वर्षहरूमा एक अर्काको निर्यातमा कर लगाए । क्यानाडाको चुनावमा चीनले हस्तक्षेप गरेको पनि आरोप लगाइयो।
क्यानडाका प्रधानमन्त्री कार्नीले आफु निर्वाचित भएसँगै चीनसँगको सम्बन्ध सुधारमा पहल गरेको देखिन्छ भने बेइजिङले पनि सम्बन्धलाई ‘सही बाटोमा’ ल्याउन इच्छुक रहेको बताएको छ।
बिहीवार प्रधानमन्त्री ली चियाङसँग भेट गरेका क्यानडाका नेताले व्यापारका विषयमा छलफल गर्न व्यापारिक प्रतिनिधिहरूसँग पनि वार्ता गर्ने कार्यक्रम रहेको छ।
परम्परागत रूपमा अमेरिकाको कट्टर सहयोगी क्यानडामा विशेषगरी ट्रम्पले स्टिल, आल्मुनियम, सवारी साधन र काठमा लगाएको करवृद्धिका कारण नराम्रो आर्थिक प्रभाव परेको छ । अमेरिकी नीतिका कारण क्यानडाको चीनतिरको झुकाब एकाएक बढेको छ।
वाशिङ्गटनको कदमले क्यानाडालाई अन्यत्र व्यवसाय खोज्न प्रेरित गरेको छ। अक्टोबरमा कार्नीले अमेरिकामाथिको निर्भरता कम गर्न क्यानडाले सन् २०३५ सम्ममा आफ्नो गैरअमेरिकी निर्यातलाई दोब्बर बनाउनुपर्ने बताए।
क्यानाडा सरकारको तथ्यांक अनुसार संयुक्त राज्य अमेरिका क्यानडाको सबैभन्दा ठूलो बजार रहेको छ, जसले सन् २०२४ मा लगभग ७५ प्रतिशत क्यानेडियाली सामानहरू खरिद गरेको थियो ।
चीन क्यानाडाको लागि दोस्रो ठूलो बजार हो । सन् २०२४ मा क्यानाडाको निर्यातको चार प्रतिशतभन्दा कम सामान चीनले खरिद गरेको थियो ।