पर्यटकीय नगरी इलाममा नयाँ फिल्म हल खुलेको छ । धरान र बुटवलपछि ‘फ्रेन्ड्स सिनेमा’ले इलाममा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको हो ।
इलाम नगरपालिका–७ स्थित उक्त हल अभिनेता पल शाह, अभिनेत्री उषा उप्रेतीले शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरे । करिब ३ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको हलमा १८८ सिट क्षमता रहेको छ ।
नगरपालिकाको बहुतले पार्किङ भवनमा सञ्चालनमा आएको यस सिनेमा हलमा विश्वस्तरीय प्रविधि प्रयोग गरिएको छ । फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीका अनुसार हलमा ‘टुके प्रोजेक्सन’ र ‘डल्बी डिजिटल साउन्ड सिस्टम’ जडान गरिएको छ, जसले गर्दा दर्शकले काठमाडौंका महँगा मल्टिप्लेक्सहरूमा पाइने जस्तै गुणस्तरीय ध्वनि र चित्रको अनुभव लिन पाउनेछन् ।
हलको सञ्चालकहरू प्रदीपलाई पुष्कर घिमिरे र आशिष तामाङले साथ दिएका छन् । अब इलामका फिल्म प्रेमीहरूले गुणस्तरीय सिनेमा हेर्नकै लागि झापा झर्नुपर्ने बाध्यता अन्त्य भएको सञ्चालक धामीले बताए ।